२०८३, आषाढ ३० गते

Jul 14 2026 | २०८३, आषाढ ३० गते

भानु माविले मनायो ४९ औं वार्षिकोत्सव

शनिवार , फाल्गुण १०, २०८१

  • 742
    Shares
  • 742
    Shares
  • भैरहवा, १० फागुन । रुपन्देहीको भैरहवास्थित श्री भानु माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ । शुक्रबार विद्यालय प्रांगणमा एक समारोहको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।

    समारोहमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले आफ्ना बालबालिकाको पढाइप्रति अभिभावकले चासो राख्नुपर्नेमा जोड दिए । उनले भानु माविले अब्बल विद्यालयको रुपमा आफूलाई स्थापित गरेको चर्चा गरे । मेयर खाँले विद्यालयहरुमा आवश्यक पर्ने कम्प्युटर प्रविधिहरुको उचित प्रयोग तथा आवश्यक पूर्वाधारहरु र तालिमप्राप्त शिक्षकहरुको कारण सामूदायिक विद्यालयको शैक्षिक उपलब्धि बढ्दै गएको बताए । 

    त्यस्तै नगर उपप्रमुख उमा अधिकारीले बालबालिकाप्रति शिक्षक जतिकै अभिभावकहरुले ध्यान दिए मात्र शिक्षाको गुणस्तर सुधार हुने बताइन् । 

    २०३३ सालमा स्थापना भएको भानु माविमा अहिले कक्षा ११ र १२ मा कानून विषयको समेत अध्यापन भइरहेको छ । विद्यालयमा हाल ८ सय बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीले बताए । वार्षिकोत्वकै अवसर पारेर विद्यालयका पूर्वशिक्षक, छात्रवृत्ति दाता तथा अन्य सहयोगीहरुलाई विद्यालयले सम्मान गरेको थियो । त्यस्तै विद्यार्थीहरुलाई छात्रवृत्ति रकम समेत सोही कार्यक्रममा प्रदान गरिएको थियो । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खानको अध्यक्षता, नगरप्रमुख इश्तियाक अहमद खाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर–९ का वडाअध्यक्ष शेषकान्त भण्डारी, नगरपालिकाको शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, शिक्षा अधिकृत जानह्वी पाण्डे, पूर्व विद्यार्थी संजोगराज तिवारी लगायतले भनाइ राखेका थिए ।