२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

भारतीय मिडिया टीमलाई भारत–नेपाल मैत्रीपूर्ण क्रिकेटको उपाधि

सोमवार , माघ २८, २०८१

  • 625
    Shares
  • 625
    Shares
  • भैरहवा, २८ माघ । भारत–नेपाल दोस्रो मैत्रीपूर्ण मिडिया कप क्रिकेटको उपाधि भारतीय मिडिया टीमले जितेको छ । भारतीय मिडियाको आयोजनामा भारतको नौतनवास्थित राज मनोहर लोहिया कलेज को खेलमैदानमा सम्पन्न प्रतियोगितामा लुम्बिनी प्रेस क्लब, रुपन्देहीको टीमलाई ५ विकेटले पराजित गर्दै भारतीय मिडिया टिमले उपाधि जितेको हो ।

    उपाधि हात पारेको भारतीय मिडिया टीमले नगद ११ हजार भारतीय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै, उपविजेतामा चित्त बुझाएको लुम्बिनी प्रेस क्लबको टीमले नगद १० हजार भारतीय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

    टस जितेर ब्याटिङ गरेको प्रेस क्लबको टिमले निर्धारित १५ ओभरमा १४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ८ रन बनायो । उसका लागि सचिन चौधरीले ४३ बलमा ५३ रनको अर्धशतकीय पारी खेले । यस्तै, मोहम्मद हबिबले ११ रन बनाए । प्रेस क्लबका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा भारतीय मिडियाका विनयले ३, मुकेशले २ र आलोक जोशी र अमित त्रिपाठीले समान १–१ विकेट लिए ।

    १ सय ९ रनको लक्ष्य भारतीय टिमले ११ ओभर ४ बलमा ५ विकेटको नोक्सानीमा पूरा गर्यो । उसका लागि अरविन्द त्रिपाठीले महत्वपूर्ण ५२ रन बनाए । यस्तै, अमित त्रिपाठीले २२, रोहितले १२ र पुनितले १० रन बनाइ टीमलाई जित दिदलाए । बलिङमा प्रेस क्लबका भुवन पाण्डे र भीम भण्डारीले समान २–२ विकेट लिँदा प्रकाश न्यौपानेले १ विकेट हात पारे ।

    खेलमा अरविन्द त्रिपाठी प्लेयर अफ द म्याच र म्यान अफ द सिरिज घोषित भइ पुरस्कृत भए । प्रेस क्लबका सचिन चौधरी बेष्ट ब्याटर, भारतीय टीमका विनय बेष्ट बलर र प्रेस क्लबका भुवन पाण्डे बेष्ट फिल्डर भइ पुरस्कृत भए । 

    विजेता र उपविजेता खेलाडीहरुलाई एस.एस.बी सेकण्ड कमान्डेड वरुण कुमार, नगर पंचायत सुनौलीका अध्यक्ष हबिब खान, पूर्वअध्यक्ष गुड्डु खान, वैभव सिंह, पूर्व जिला पंचायत सदस्य वसीम खान, नन्दलाल जयसवाल, अमित साहनी, अनुप जयसवाल, बिके जयसवाल, अजय रामचन्द्र, अवनिश उपाध्याय, विनय यादव, राजा वर्मा लगायतले पुरस्कार प्रदान गरे ।

    1739166040966 (2).jpg

    भारतीय टीमका कप्तान अमित त्रिपाठी र प्रेस क्लबका अध्यक्ष तथा कप्तान कमल रायमाझीले सीमा क्षेत्रमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुबीच आपसी भाइचारा अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको जनाए । माघ २ मा भैरहवामा प्रेस क्लबले नेपाल–भारत मैत्रीपूर्ण क्रिकेट गरेको थियो । 

    भारतीय मिडिया टीमले भने गत वर्षदेखि प्रतियोगिता आयोजना गरिरहेका छन् । सीमा क्षेत्रका साझा मुद्दामा दुबै देशका पत्रकारले कलम चलाउनुपर्ने कप्तानद्वयले जनाए ।