२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

मैत्रीपूर्ण क्रिकेटको उपाधि सिद्धार्थनगरका कर्मचारीको टीमलाई

आइतवार , माघ २०, २०८१

  • 604
    Shares
  • 604
    Shares
  • भैरहवा, २० माघ । मैत्रीपूर्ण क्रिकेटको उपाधि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका कर्मचारीहरुको टीमले हात पारेको छ । सिद्धार्थनगर नगरपालिकाले ५७ औं स्थापना दिवसको अवसर पारेर आइतबार भैरहवास्थित पक्लिहवा माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा कर्मचारीको टीमले उपाधि हात पारेको हो ।

    फाइनलमा नगरपालिकाका जनप्रतिनिधिको टीमलाई १० विकेटले पराजित गर्दै कर्मचारीको टीमले उपाधि जित्न सफल भएको हो । टस जितेर ब्याटिङ गरेको जनप्रतिनिधिको टीमले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ७८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कर्मचारीको टीमले ५ ओभर ४ बलमा बिना क्षति लक्ष्य पूरा गर्दै उपाधि चुम्यो । खेलमा ३ विकेट लिएका कर्मचारी टीमका जनक थापा प्लेयर अफ द फाइनल घोषित भए ।

    runner up.jpg
    undefined

    यसअघि जनप्रतिनिधि र कर्मचारीको टीमले लुम्बिनी प्रेस क्लबलाई पराजित गर्दै सेमिफाइनल र फाइनल पुगेका थिए । पहिला ब्याटिङ गरेको प्रेस क्लबले १० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनाएको थियो । कर्मचारीको टीमले बिना क्षति ५ ओभर १ बलमा लक्ष्य पूरा गरी १० विकेटले जीत निकालेको थियो । त्यसअघि जनप्रतिनिधिको टीमले प्रेस क्लबको टीमलाई २६ रनले पराजित गरेको थियो ।

    नगरपालिकाले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिरहेको छ । नगरपालिकाले यही माघ २२ गते मंगलबार स्थापना दिवस मनाउँदैछ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार समेत रहेको नगरपालिकाले विशेष समारोहका साथ दिवस मनाउने तयारी गरिरहेको छ । त्यसै क्रममा विभिन्न प्रतियोगिता भइरहेका छन् ।

    वि.सं.२०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो । तत्कालीन श्री ५ को सरकारद्वारा दश हजार सात जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । उक्त राजपत्रको नगरपालिकाको कार्यालयले खोज गरेको थियो ।

    runner up.jpg

    स्थापना दिनको प्रमाणस्वरुप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाउन लागेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले बताए । दिवसका अवसरमा कार्यालयले विभिन्न संघ–संस्था, नगरबासीहरुको सहभागीतामा नगरमा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्नेछ । नगरपालिकाले प्रभातफेरीमा विद्यार्थीलाई भने सहभागी नगराउने जनाएको छ ।

    कार्यक्रम माघ २२ गते मंगलबार बिहान १० बजे नगरपालिकाको कार्यालयमा जम्मा भइ बैंकरोड, देवकोटाचोक हुँदै महेन्द्र सभा गृहमा पुगेर शुभकामना आदानप्रदानमा परिणत हुने स्थापना दिवस मूल समारोह संयोजक तथा वडा नम्बर २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तवले बताए । स्थापनाको अवसरमा माघ २१ र २२ गते साँझ दीप प्रज्जवलन गर्ने र नगरबासीलाई समेत दीप प्रज्जवलन गर्न नगरपालिकाले आग्रह गरेको नगर उप्रमुख उमा अधिकारीले बताइन् ।

    स्थापना दिवसको कार्यक्रमलाई भव्य र सभ्य रुपमा मनाउन तयारी तीव्र पारिएको नगर प्रवक्ता समेत रहेका सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताए । 

    स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण क्रिकेट सम्पन्न भएको छ भने महिला कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता राखिएको खेल संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले जानकारी दिए । आफ्नो स्थापना दिवसको अवसरमा माघ २२ गते मंगलबार सिद्धार्थनगर नगरपालिकाले स्थानीय बिदा समेत दिएको छ ।