२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

मर्चवारीमा गुणस्तरीय शिक्षाको लागि १० वर्षे शिक्षा योजना

बिहिवार , माघ १७, २०८१

भैरहवा, १७ माघ । रुपन्देहीको मर्चवारी गाउँपालिकामा गुणस्तरीय शिक्षाको लागि १० वर्षे शिक्षा योजना निर्माण हुने भएको छ । उक्त योजना निर्माणको लागि विभिन्न चरणको कार्यमध्ये मस्यौदामाथि सरोकारवालाहरुको सुझाव संकलन तथा पृष्ठपोषण कार्यक्रममा सहभागीहरु गुणस्तरीय शिक्षाका लागि आफ्ना रायसुझाव राखेका थिए ।

कार्यक्रममा मर्चवारी गाउँपालिकाका अध्यक्ष तथा शिक्षा योजना निर्माण समितिका संयोजक गया प्रसाद बरईले शिक्षा क्षेत्रमा लगानी गरे जस्तो प्रतिफल नआएको बताए । अध्यक्ष बरईले भने, ‘मर्चवार क्षेत्रमा रहेका अन्य पालिकाको तुलनामा मर्चवारी गाउँपालिकाले शिक्षा क्षेत्रमा बढी लगानी गरेको छ । शिक्षक तलब, भौतिक संरचना र ब्यवस्थापनमा लगानी गरेका छौं । तर, उक्त लगानी अनुसारको उपलब्धि आउन सकेको छैन ।’ अब मासिक रुपमा शिक्षक, अभिभावक तथा विद्यार्थीहरुसँग विभिन्न चरणमा सम्वाद गर्ने कार्यक्रम लागू गर्ने अध्यक्ष बरईले बताए । 

Marchwari SIchha.jpg

त्यस्तै मर्चवारी गाउँपालिका उपाध्यक्ष आशा सिंहले शिक्षा क्षेत्रको विकास बिना अन्य क्षेत्रको विकास नहुने बताइन् । महिलाहरुमा शिक्षा क्षेत्रमा अधिक पहुँचको लागि कन्या विद्यालयलाई प्रभावकारी बनाउने उनले बताइन् । सबैको सल्लाह बमोजिम निर्माण गरिएको कार्ययोजनालाई विधिवत रुपले कार्यान्वयन गराई शिक्षाको गुणस्तर सुधारिने उपाध्यक्ष सिंहले बताइन् । 

कार्यक्रममा १० वर्षे योजना प्रस्तुत गर्दै गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिश्चन्द्र बरईले शिक्षकको दरबन्दी न्यून रहेको मुख्य चुनौती देखिएको बताए । उनले भने ‘विद्यालयमा तह अनुसारको दरबन्दी एकदम न्युन छ । अध्यापन कार्य अवरुद्ध नहुनका लागि गाउँपालिकाबाट शिक्षक कोटा प्रदान गरी विद्यालयमार्फत भर्ना गरिएको छ । शिक्षाको लागि जति बजेट बिनियोजन हुँदा ९० प्रतिशत शिक्षकको तलबमै खर्च हुने भएको हुँदा अन्य व्यवस्थापन तथा अतिरिक्त क्रियाकलाप हुन सकेको छैन ।’

मर्चवारी गाउँपालिकाको जनसंख्या तथा विद्यार्थीहरुको अनुपातमा शिक्षा कार्ययोजनामा आवश्यक क्रियाकलाप समावेश गरिएको शिक्षा शाखा प्रमुख बरईले बताए । कार्ययोजनाका विभिन्न तथ्यांक प्रस्तुत गर्दै शिक्षा शाखा प्रमुख बरईले २०७८ को जनगणना अनुसार मर्चवारीमा ४० हजार ८ सय ८० जनसंख्या रहेको बताए । पालिकामा सामूदायिक विद्यालय १५, संस्थागत विद्यालय १५ र मदरसा ८ गरी जम्मा ३८ विद्यालय रहेको उनले जानकारी दिए । जसमा एउटा प्राविधिक धारको विद्यालय सञ्चालनमा रहनुका साथै बालविकास केन्द्र ४९ र सामुदायिक सिकाइ केन्द्र ३ वटा रहेको उनले बताए ।

सामूदायिक तथा धार्मिक विद्यालयहरुमा ९ हजार ४ सय १७ तथा संस्थागत विद्यालयमा ४ हजार ४ सय ६८ गरी १३ हजार ८ सय ५९ जना विद्यार्थीहरु अध्ययनरत रहेको उनले बताए । वि.सं. २०९० सम्मका लागि निर्माण गर्न थालिका शिक्षा  योजनामा शिक्षा क्षेत्रका सबल पक्ष, शैक्षिक समस्या, अवसर, चुनौती, लक्ष्य, रणनीति, शैक्षिक अवस्था, भौतिक संरचना, आवश्यक जनशक्ति, बालविकास, आधारभूत, माध्यमिकसहित प्राविधिक शिक्षाको विभिन्न पक्षहरुबारे छलफल गरिएको थियो ।

छलफल तथा सुझाव संकलनमा वडाअध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, सञ्चारकर्मी लगायत विभिन्न सरोकारवालाहरुले निर्माणधीन शिक्षा योजनामा विभिन्न पक्षहरुबारे सुझाव राखेका थिए । 

जनता माध्यमिक विद्यालय ओडवलियाका शिक्षक रामसरन यादवको सञ्चालनमा भएको कार्यक्रममा कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यक्रम प्रबन्धक हरिचन्द्र चौधरी, टेक्निकल अफिसर सुचेता शाक्य र सुपरवाइजर विजय पाल लगायको उपस्थिति रहेको थियो । 

कार्यक्रम युएसएआइडी प्रारम्भिक कक्षा सिकाई कार्यक्रम र कालिका स्वावलम्बन सामाजिक केन्द्र प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।