
सोमवार , माघ १४, २०८१
भैरहवा, १४ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले यही माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एच.पी.भी. (ह्युमन प्यापिलोमा भाइरस) लगाउने भएको छ ।संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको खोप कार्यक्रमलाई सिद्धार्थनगरले माघ २३ देखि २९ गतेसम्म सञ्चालन गर्न लागेको हो ।
अभियान अन्तरगत पालिकाभित्रका ४ हजार २ सय किशोरीहरुलाई खोप लगाउने लक्ष्य लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी न्यौपानेले जानकारी दिए । खोपको लागि ४२ वटा विद्यालयमा खोप केन्द्र तोकिएको छ । विद्यालय बाहिर रहेका किशोरीलाई खोप केन्द्र सहभागी बनाउने तयारी भएको उनले बताए ।
खोप सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँको अध्यक्षतामा सोमबार बसेको पालिकास्तरीय खोप समन्वय समितिको बैठकले लक्षित समूहका सबै किशोरीहरुसम्म पुग्ने गरी खोप सञ्चालन गर्ने निर्णय गरेको छ । एच.पी.भी. खोपलाई प्रभावकारी बनाउन विद्यालय, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला पक्षसँग छलफल तथा अभिमुखीकरण कार्यक्रम पनि राखिएको छ ।
नेपाली महिलाको सबैभन्दा बढीमा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर हो । यो समस्यालाई निराकरण गर्न लक्षित समूह नछुट्ने गरी खोप केन्द्र तोकिएको र सोहीअनुसार तयारी गरिएको मेयर खाँले जानकारी दिए ।
यो खोप ९ देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरिएको छ । यसरी निश्चित उमेर तोकिनुको कारण यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने भएकाले उमेर समूह तोकिएको हो । किनभने यो भाइरस यौन क्रियाकलापबाट सर्छ । तर, यौन क्रियाकलाप नगरेको अवस्थामा २६ वर्ष उमेरसम्मका युवतीलाई खोप लगाउन सकिन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij