२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

४५ जनाले गरे आँखा दानको घोषणा

शनिवार , माघ १२, २०८१

  • 838
    Shares
  • 838
    Shares
  • भैरहवा, १२ माघ । रुपन्देहीको भैरहवामा ४५ जनाले आँखा दान गर्ने घोषणा गरेका छन् । सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित श्री बेलहिया माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सवको अवसरमा विद्यालयमा आयोजना गरेको नेत्रदानसम्बन्धी अभिमुखीकरण तथा नेत्रदान कार्यक्रममा ४५ जनाले आँखा दानको घोषणा गरेको कार्यक्रम संयोजक राकेश गुरुङले बताए ।

    कार्यक्रममा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालका नेत्र अधिकृत अमर गौतमले दान आफैमा पवित्र शब्द भएको बताए । उनले मृत्युपछि खरानी भएर जाने आँखा दान गरिए दृष्टिबिहीनलाई संसार देखाउन सकिने बताए । आँखा दान भन्दा पुण्य काम अरु के हुन सक्छ भन्दै उनले प्रश्न गरे । ‘आँखाको कालो भाग (कर्निया) अर्थात् नानी प्रत्यारोपण गर्ने हो’उनले भने, मृत्यु भएको मानिसको कर्निया निकालेर अर्को मानिसमा प्रत्यारोपण गर्न सकिन्छ ।’

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले आफूहरुले पनि कुनै न कुनै दिन आँखा दानको घोषणा गर्ने बताए । सिद्धार्थनगर नगरपालिका–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले आँखा दान महादान भएको बताए ।

    कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मी, लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझी, विद्यालयका सहायक प्रधानाध्यापक विजेश कार्की लगायतले बोलेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, प्रधानाध्यापक बिना भण्डारी लगायतको उपस्थिति रहेको थियो ।