
बुधवार , पौष १०, २०८१
भैरहवा, १० पुस । रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल कलेजको प्रायोजनमा पुस ११ गते बिहीबार (भोलि) देखि भैरहवामा साई ग्लोबल कप–२०८१ (जिल्लास्तरीय अन्तर कलेज टी–२० प्रतियोगिता) हुने भएको छ ।
सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगिताबारे आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३२ वटा टीमको सहभागीता हुने रुपन्देही क्रिकेट संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन प्रवेश शुल्कवापत रु. ८ हजार तोकिएको संघका कार्यसमिति सदस्य तथा प्रतियोगिताका संयोजक उदय कुमार मल्लिकले बताए । उनका अनुसार प्रतियोगिता नकआउट आधारमा खेलाइनेछ ।
प्रतियोगिताको विजेतालाई रु. ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई रु. २५ हजार ५ सय ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, प्लेयर अफ म्याचलाई रु. १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई रु. १० हजारसहित ट्रफी र प्रमाणपत्र, बेस्ट बलर र बेस्ट बलरलाई रु. ५ हजारसहित ट्रफी र प्रमाणपत्र र अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने मल्लिकले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न करिब रु. ५ लाख खर्च हुने उनको भनाइ छ ।
‘विगतमा साई ग्लोबल कलेजले आफै प्रतियोगिता सञ्चालन गर्दै आएको थियो, तर पछिल्लो ३ वर्षदेखि रुपन्देही क्रिकेट संघले यो प्रतियोगिता सञ्चालन गर्दै आएको छ, ’उनले भने । प्रतियोगिताको उद्घाटन समारोह बिहीबार बिहान ८ बजे लुम्बिनी प्रदेश सदस्य हेमा बेल्बासे के.सी.को प्रमुख आतिथ्यतामा हुने मल्लिकले जानकारी दिए ।
साई ग्लोबल माध्यमिक विद्यालयका कलेजका अध्यक्ष दिनेश मान अमात्यले साई ग्लोबल कपको उचाई र गरिमा बढेको बताए । उनले धेरै टीमको सहभागीताले पनि यो कुराको पुष्टि गर्ने बताए । यसवर्षदेखि प्रतियोगिता अन्तर्गत विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी (विद्यार्थीहरु) लाई साई ग्लोबलमा छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी दिए । अध्यक्ष अमात्यका अनुसार प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २५ प्रतिशत, बेस्ट बलर र बेस्ट ब्याटरलाई ५० प्रतिशत तथा म्यान अफ सिरिज र फाइनल विजयी टीमका कप्तानलाई १०० प्रतिशत छात्रवृत्तिको व्यवस्था रहेको छ । खेलाडीको मनोबल बढाउन यो व्यवस्था गरिएको उनले बताए ।
रुपन्देही क्रिकेट संघका निवर्तमान अध्यक्ष तथा नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले खेलमार्फत प्रतिभाका पहिचान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । उनले रुपन्देही क्रिकेटको हब भएको र साई ग्लोबलले क्रिकेट प्रतियोगितालाई निरन्तरता दिदै आएको बताए ।
पत्रकार सम्मेलनमा संघका कार्यसमिति सदस्य पुनित पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा साई ग्लोबलका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेल, प्राचार्य लक्ष्मण ज्ञवाली, लुम्बिनी प्रेस क्लबका सचिव शशि पन्थी लगायतको उपस्थिति रहेको थियो । साई ग्लोबल कप २०८० को विजेता न्यू होराइज मावि रहेको रुपन्देही क्रिकेट संघका कार्यसमिति सदस्य प्रथम पराजुलीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij