
बिहिवार , पौष ४, २०८१
बर्दिया, ४ पुस । लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तब्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाँउ बर्दिया अभियान शुभारम्भ गरेको छ । स्थानीय सरकार ठाकुरबाबा नगरपालिकासँग सहकार्य गरेर प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान शुभारम्भ गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक भव्य कार्यक्रमकाबीच बिहीबार अभियानको शुभारम्भ गरे ।
प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम नीति तथा कार्यक्रम अन्तरगत घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरिएको हो । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई समृद्धिको आधारको रुपमा लिएको छ । जस अन्तरगत आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न बर्दिया जिल्लालाई लक्षित गरेर अभियान चलाइएको हो । अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासको लागि ध्यान दिएको र त्यसको सुरुवात बर्दियाबाट गरिएको बताए । ‘बर्दिया जिल्लाको ऐतिहासिक स्थल र यहाँ रहेको राष्ट्रिय निकुञ्ज भ्रमणको गन्तव्य स्थल हो’उनले भने,‘लुम्बिनी प्रदेशबासीलाई एकपटक बर्दिया पुग्ने गरी, भ्रमण गर्ने गरी हार्दिक आमन्त्रण गर्दै भ्रमण गर्न आह्वान गर्दछु ।’
प्रदेश सरकारले कर्मचारीहरुलाई आन्तरिक पर्यटकीय क्षेत्रको भ्रमणको लागि १० दिनको समय उपलब्ध गराउने गरेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले कर्मचारीलाई पनि बर्दिया जिल्लाको भ्रमणका लागि आह्वान गरे । ‘संघ, संस्था, विद्यालय, सहकारी संस्था लगायत सबै निकायहरुमा रहनुभएकाहरुले एकपटक बर्दिया भ्रमणका लागि समय निकाल्न अनुरोध र आह्वान गर्दछु’उहाँले भने,‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको अभियान पर्यटनबाट सम्भव छ । त्यही भएर सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ ।’
बर्दिया जिल्लाको समस्या बर्दियाको मात्रै नभएर सिंगो प्रदेशको समस्या भएकाले प्रदेश सरकारले समाधानका लागि ध्यान दिने मुख्यमन्त्री आचार्यले प्रतिवद्धता व्यक्त गरे । समस्याको वर्गीकरण गरेर तीन तहका सरकारले साझा रुपमा सम्बोधन गर्ने गरी पहल सुरु भएको उनको भनाइ छ ।
बर्दिया राष्ट्रिय निकुञ्जसँगसँगै जिल्लाकै पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाउँ बर्दिया कार्यक्रम आयोजना गरिएको हो । देशका विभिन्न राष्ट्रिय निकुञ्ज भन्दा फरक जैविक विविधता बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको, एकै दिनमा बाघ, गैँडा र जंगली हात्तीको बथानका साथ साथै चित्तल जरायो बाह्रसिङ्गा विभिन्न प्रकारका चराचुरुङ्गी देख्न पाइन्छ ।
उद्घाटन कार्यक्रममा लुम्बिनीसहित ७ वटै प्रदेशका पर्यटन मन्त्रीहरु, पालिका प्रमुख, राजनीतिक दल, संरक्षणकर्मी, पर्यटन व्यवसायी, सामाजिक तथा शैक्षिक संघ–संस्थाका प्रतिनिधिहरूको समेत सहभागीता थियो ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा अभियानको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij