२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

विद्यालय सुधार योजना कार्यान्वनयमा लुम्बिनीका मुख्यमन्त्री आचार्यको जोड

शनिवार , मंसिर २९, २०८१

  • 361
    Shares
  • 361
    Shares
  • अर्घाखाँची, २९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ रहिसचौरस्थित अर्घा रजस्थल माध्यमिक विद्यालयको स्वर्णजयन्ती महोत्सवको उद्घाटन गरेका छन् । भव्य कार्यक्रमकाबीच मुख्यमन्त्री आचार्यले स्वर्णयन्ती महोत्सवको शनिबार उद्घाटन गरेका हुन् । 

    कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन विद्यालय सुधार योजनालाई प्रभावकारी कार्यान्वयन गर्न जोड दिए । ‘एक्लो प्रयासले मात्रै शैक्षिक गुणस्तर बढाउन सकिदैन । यसका लागि चौतर्फी सहकार्य र साझा प्रयासको खाँचो पर्दछ’उनले भने,‘विद्यार्थीलाई उत्प्रेरित गर्ने, अभिभावक जागरुक हुने, शिक्षक तथा विद्यालय परिवार उत्साहित भएर विद्यालय सुधार योजनालाई प्रभावकारी कार्यान्वयनमा जुट्न जरुरी छ ।’ 

    अर्घा रजस्थल माध्यमिक विद्यालयलाई यहाँसम्म ल्याउन धेरैको योगदान र भूमिका रहेको स्मरण मुख्यमन्त्री आचार्यले गरे । ‘यो विद्यालयलाई यहाँसम्म ल्याउन धेरै अग्रजहरु हुनुहुन्छ । कति त दिवंगत हुनुभयो, उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु’उनले भने,‘विद्यालयलाई अघि बढाउन अझै क्रियाशील रहनुभएकाहरुप्रति हार्दिक धन्यवाद भन्न चाहन्छु ।’ 

    विद्यालय सञ्चालन गर्दा शिक्षकहरुलाई तलब खुवाउन नसक्ने अवस्थाबाट पार पाउँदै आजको अवस्थामा आइपुग्दाको क्षणको स्मरण गरेका मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विद्यालयको शैक्षिक उन्नयनका लागि सक्दो सहयोग पर्ने प्रतिवद्धता व्यक्त गरे । ‘विद्यालय सञ्चालन गर्दा पठनपाठन गराउने गुरुहरुलाई तलब खुवाउन समस्या थियो । भैलो खेलेर जम्मा गरेको रकमबाट तलब खुवाइन्थ्यो’उनले विगत सम्झदै भने,‘अहिले विद्यालय विशाल भएको छ । जस्तो सोंचेका छौं, विद्यालयलाई त्यहाँसम्म पुर्याउन जरुरी छ ।’ स्वर्णजन्तीको अवसरमा मुख्यमन्त्री आचार्यले विद्यालय परिसरभित्र स्मारिका मञ्चको शिलान्यास समेत गरेका छन् । यो विद्यालयमा मुख्यमन्त्री आचार्यले अक्षरारम्भ गर्दै कक्षा पाँचसम्म अध्ययन गरेका थिए । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम रायमाझीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा स्वर्णजयन्तीको उद्घाटन कार्यक्रम भएको थियो ।