२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

२३ औं सामूहिक खेलकुद महोत्सव : विभिन्न विधामा प्रतिष्पर्धा जारी

शुक्रवार , मंसिर २८, २०८१

भैरहवा, २८ मंसिर । सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा भैरहवामा जारी २३ औं सामूहिक खेलकुद महोत्सव–२०८१ को दोस्रो दिनका खेलहरू सम्पन्न भएका छन् । चारदिनको खेलकुद महोत्सवको दोस्रो दिनका खेलहरू बिहीबार सम्पन्न भएका हुन् । मंसिर २६ गतेदेखि सुरु भएको खेल महोत्सवको दोस्रो दिन सब जुनियरतर्फ १०० मिटर दौड, रिले हिट्स, लङजम खेल भएका छन् ।

त्यस्तै जुनियरतर्फ १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, लङजम्प र सिनियरतर्फ १०० मिटर दौड २०० मिटर दौड, लङजम्प र भलिबल खेलहरु भएका छन् । एथ्लेटिक्सतर्फका सम्पूर्ण खेल पक्लिहवा कृषि क्याम्पस र भलिबल पक्लिहवा माध्यमिक विद्यालयमा भएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, जीवनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ विद्यार्थीहरूलाई शारीरिक र मानसिक रुपमा स्वास्थ्य राख्नु तथा उनीहरूमा भएको प्रतिभालाई प्रस्फुटन गराउनु खेल महोत्सवको उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ । सामूहिक विद्यालय परिवार रूपन्देहीले विद्यार्थीमा भएको अन्तरनीहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले २०५९ सालदेखि नै विभिन्न कार्यक्रमहरू गर्दै आएको परिवारका अध्यक्ष बसन्त पाण्डेले बताए । उनले शिक्षाका साथै खेलकुद र सामाजिक क्रियाकलापमा पनि उत्तरदायित्व बहन गर्दै सामूहिक विद्यालय परिवार, रूपन्देहीले वर्षेनी विविध कार्यक्रमहरू आयोजना गर्दै आएको बताए ।

1000022154.jpg

कक्षा १ देखि ३ सम्मको सब जुनियर, कक्षा ४ देखि ६ सम्मको जुनियर र कक्षा ७ देखि १० सम्मको सिनियर गरी तीन तहमा हुने प्रतियोगितालाई छात्र र छात्रा गरी दुई विधामा प्रतियोगिता भइरहेका छन् ।

मंसिर २६ देखि २९ मंसिरसम्म हुने चारदिने खेल महोत्सवमा ५० मिटरदेखि ८ सय मिटरसम्मका दौड, भलिबल, सय गुणे चार रिले दौड, लङजम्प र सटपुट खेलहरू हुने आयोजकले जानकारी दिएका छन् ।

खेल महोत्सवमा १ हजार ३ सय जन विद्यार्थीहरू सहभागी छन् । संस्थामा जिल्लाका सिद्धार्थनगर र तिलोत्तमा नगरपालिका, मायादेवी, ओमसतिया र रोहिणी गाउँपालिकामा रहेका २० वटा विद्यालयहरु सदस्य छन् ।