२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै अपरेशन थिएटर

सोमवार , मंसिर २४, २०८१

  • 754
    Shares
  • 754
    Shares
  • बुटवल, २४ मंसिर । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले विस्तारित अस्पताल सेवा अन्तरगत प्रसूती सेवाका लागि छुट्टै अपरेशन थिएटर सञ्चालनमा ल्याएको छ । अस्पतालमा ८ बेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालनमा आएपछि अब हप्ताको सातै दिन प्रसुती सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउन सकिने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए । 

    सञ्चालनमा ल्याइएको नयाँ थिएटरमा १ जनरल अपरेशन तथा २ वटा मेजर अपरेशन रुम रहेको ढकालले जानकारी दिए । छुट्टै थिएटर सञ्चालनसँगै प्रसुती सेवा थप गुणस्तरीय र सहज हुने उनले दाबी गरे । त्यसै गरी प्रसूतीका लागि छुट्टै थिएटर बनेपछि यसअघि रहेको संरचनाबाट अन्य बिरामीलाई सेवा प्रदान गर्दा शल्यक्रिया क्षमता संख्यात्मक हिसाबले ३३ प्रतिशतले वृद्धि हुने मेडिकल सुपेरीटेण्डेण्ट (मेसु) डा. ढकालले जानकारी दिए । 

    विगत ३ वर्षको तथ्यांक अनुसार अस्पतालमा वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिँदै आएका छन् । अब यसको संख्यामा ३३ प्रतिशतले वृद्धि हुँदा १२ हजार बढीको सङ्ख्यामा शल्यक्रिया गर्न सकिनेछ । प्रयाप्त संरचना, उपकरण तथा जनशक्ति नहुँदा तत्काल अपरेशन गर्नुपर्ने बिरामीबाहेक अन्यलाई महिनौंपछि आउने गरी पालो लगाउनुपर्ने बाध्यतालाई कम गर्ने आफ्नो प्रतिवद्धता अनुसार विस्तारको कामलाई प्राथमिकता दिइएको मेसु ढकालले बताए । 

    अस्पतालमा पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ७ सय ६५ वटा शल्यक्रियामध्ये ४ हजार ५ सय ४७ वटा शल्यक्रिया प्रसूती सेवातर्फको रहेका छन् । अस्पतालमा प्रसूती सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएकामध्ये ७ हजार ५ सय ४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् । अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै सेवा विस्तारलाई पनि प्राथमिकता दिइएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए । पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य सेवा लिएको तथ्यांकमा उल्लेख छ । 

    अस्पतालमा शल्यक्रिया कक्षलाई विस्तार गरेसँगै जनरल सर्जरीतर्फ महिनौ पालो कुर्नुपर्ने समस्या उल्लेख्य रुपमा समाधान हुने अस्पतालको दावी छ । अपरेशन थिएटर बिस्तारसँगै विगतमा सातामा २ दिन हुन पाउने हाडजोर्नी सम्बन्धी शल्यक्रिया अब सातामा ३ दिन हुनेछ भने सोहीअनुसार जनरल सर्जरी तथा नाक, कान, घाँटी सम्बन्धि शल्यक्रियाका लागि पनि सातामा ३ दिन पालो आउनेछ । 

    त्यसै गरी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि २५ जना स्टाफ नर्स थप भएका छन् । अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र गुनासोरहित बनाउनका लागि अस्पताल परिवालाई थप प्रतिबद्ध बनाउने गरी काम भइरहेको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए । संरचना, उपकरण तथा जनशक्ति भन्दा सेवाग्राहीको चाप अस्पतालमा बढी रहेको बताउँदै श्रेष्ठले सकेसम्म सीमित श्रोतसाधनबाट भए पनि सेवालाई गुनासोरहित बनाउने प्रयासमा आफूहरु रहेको उनले उल्लेख गरे ।  

    स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा.वासुदेव उपाध्यायले शल्यक्रियाको लागि बिरामीले महिनौ कुर्नुपर्ने समस्या समाधानका लागि प्रदेश सरकारले प्रयास गरिरहेको बताए । अस्पतालमा सेवा विस्तारका लागि थप संरचना र उपकरण उपलब्ध गराउन प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै उनले प्रदेश सरकारकै पहलमा अपरेशन थिएटर विस्तार भएको र थप विस्तार गर्दै लैजाने उल्लेख गरे । 

    88c29192-c4f4-444c-9a38-2a89a9ec9340.jpeg

    त्यसै गरी स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बुटवललाई स्वास्थ्य सेवाको हब बनाउनका लागि पनि प्रादेशिक अस्पताललाई थप गुणस्तर र विशिष्टीकृत गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारको गौरव आयोजनाका रुपमा रहेको १२ तले अत्याधुनिक भवन निर्माण सम्पन्न भएपछि लुम्बिनी प्रादेशिक अस्पताल नमुनाको रुपमा स्थापित हुने उल्लेख गरे । प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै उनले अस्पतालको नयाँ भवन निर्माण, सेवा विस्तार तथा गुणस्तर सुधारमा जोड दिएको उल्लेख गरे ।