२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सुविधाका लागि शहर पसेकाहरु अब गाउँ फर्कन जरुरी छ : मुख्यमन्त्री आचार्य

शनिवार , मंसिर २२, २०८१

अर्घाखाँची, २२ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका विकास गाउँकेन्द्रित भइरहदा मानिसहरु शहर केन्द्रित हुने अवस्थालाई सुधार गर्न ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताएका छन् । तीन तहका सरकारले गाउँकेन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधाहरु पुर्‍याइरहेको सन्दर्भ केलाउँदै मुख्यमन्त्री आचार्यले शहर केन्द्रित भएकाहरु अब गाउँ फर्कन जरुरी रहेको बताएका हुन् । 

शनिबार अर्घाखाँचीको मालारानी गाउँपालिका–२ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण जयन्ती महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुविधाकै लागि शहर पसेकाहरु अब गाउँ फर्कनुपर्ने धारणा राखे । ‘हामीले गाउँमा विकास पुर्‍यायौं । सुविधा पुर्‍यायौं । अहिले त्यही सुविधाका लागि शहर पसेकाहरु गाउँ फर्कन जरुरी छ’उनले भने,‘अब राम्रो स्कूलमा पढाउनकै लागि शहर पस्नुपर्ने, घरमा ताला झुण्ड्याउनुपर्ने अवस्था छैन । यही गाउँमा पनि धेरै गर्न सकिन्छ । अब गाउँ फर्किएर उद्यम गर्न जरुरी छ ।’ 

गाउँ फर्क अभियानलाई राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा समाजका अगुवाहरुले उदाहरण बनेर देखाउनुपर्ने समेत धारणा राखे । ‘राजनीतिक दलका कार्यकर्ता पनि अब उद्यममा जोडिएर व्यवसायिक बन्नुपर्छ । विदेशमा जतिको कमाई स्वदेशमा बसेर पनि गर्न सकिन्छ’उनले भने,‘अब दलका कार्यकर्ताहरु उत्पादनसँग जोडिनैपर्छ । आफैले उदाहरण पेश नगर्दासम्म समाजको विश्वास जित्न सकिदैन ।’ 

सामूदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले गुणस्तर सुधार गर्न सबै पक्ष गम्भिर बन्नुपर्ने बताए । ‘रिजल्ट सुधार्न एउटा पक्षले मात्रै ख्याल गरेर हुँदैन । यसमा अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय, जनप्रतिनिधि सबै साझा रुपमा अघि बढ्न सक्नुपर्छ’उनले भने,‘गत वर्षको एसईईको नजिता सन्तोषजनक भएन । यसपालीको नजिता सुधार गर्ने बारेमा सबै चिन्तित र संवेदनशील बन्नैपर्छ ।’ 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।