२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

शुक्रवार , मंसिर १४, २०८१

  • 868
    Shares
  • 868
    Shares
  • भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल रहेको बताएका छन् । उनले यो विमानस्थललाई रुपन्देहीको चौघेराभित्र राखेर मात्र सोच्न नहुने र नेपालमा भन्दा अझ बाहिर यसको दायरा रहेको बताए ।

    शुक्रबार नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवा, रुपन्देहीको ४२ औं अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    उनले भने, ‘म भन्छु यो विमानस्थल चल्छ, चल्दैन भन्ने आलोचना र आशंकालाई वेवास्ता गरेर बनायौं, चल्दैन भन्ने आलोचनालाई पनि हामीले वास्ता गर्दैनौं । यो चल्छ, राम्रोसँग चल्छ, हामी चलाएर देखाउँछौं । यो मैले मात्र संकल्प गरेको छैन, यो संकल्प यहाँहरुको मनमनमा पनि हुनुपर्छ भन्ने मलाई लाग्छ ।’

    अर्थमन्त्री पौडेलले कसैलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पक्षमा बोल्न र यसको पक्षमा अभिव्यक्ति दिन संकोच लाग्छ भने विरोध गर्न नहुने बताए । उनले भने, ‘हुन्न, चल्दैन, किन भन्ने ? सक्नुहुन्छ भने अलिकति योगदान गर्नुस्, पक्षमा एउटा शब्द वा वाक्य लेखिदिनुस्, त्यो पनि सक्न हुन्न भने चुप लागेर बस्नुस् । म दावीका साथ भन्छु यो चल्छ, राम्रोसँग चल्छ ।’ अर्थमन्त्री पौडेलले अवरोधहरु आउने र अवरोध पन्छाउँदै अगाडि बढ्ने बताए । 

    उनले मान्छेले धेरै कुरा बनाउन सके पनि अर्को लुम्बिनी बनाउने नसक्ने बताए । उनले लुम्बिनी कसैका निम्ति तीर्थस्थल र कसैका निम्ति पुरातात्विक र साँस्कृतिक सम्पदा क्षेत्र भएको बताए । उनले भने, ‘हामी सबैले नकारात्मक सोचबाट माथि उठ्नुपर्छ भन्ने संकल्प लिनुपर्छ ।’ 

    श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाले आँखारोगीको उपचारसँगै उपचारका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आउनु प्रशंसनीय रहेको उनले बताए । उनले आफू अस्पतालको आधुनिक शल्यक्रिया भवनको शिलान्यास कार्यक्रम जस्तो पवित्र कार्यमा सहभागी हुन पाएको भन्दै खुसी व्यक्त गरे । अर्थमन्त्री पौडेलले भवन निर्धारित समयमै गुणस्तरीय बन्ने विश्वास व्यक्त गरे ।

    IMG_5831.JPG

    त्यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई अत्याधुनिक भवनको आवश्यकता रहेको बताए ।

    नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्रा.डा. चेतराज पन्तले लुम्बिनी प्रदेशमा धेरै आँखारोगका बिरामी रहेको बताए । उनले चश्मामा भ्याट छुट गर्नुपर्ने बताए ।

    श्री रण अम्बिका शाह आँखा अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले श्री नव शिर्जनसिल कन्स्ट्रक्शन कम्पनी प्रा.लि. काठमाडौंसँग पहिलो चरणको कार्य २ वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने गरी रु. २२ करोड २९ लाख १० हजारमा सम्झौता गरिएको बताए । 

    श्री रण अम्बिका शाह आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष सागर प्रताप राणाको अध्यक्षता, नेत्र ज्योति संघ रुपन्देही शाखाका सभापति कमल राज जोशीको स्वागत तथा अस्पताल व्यवस्थापन समितिका सदस्य राजेन्द्र प्रसाद पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    अस्पतालले नेपाल लगायत अन्य मुलुकका बिरामीहरुलाई आँखा तथा नाक, कान, घाँटी उपचार सुविधासँगै मेडिकल टुरिजममा पनि योगदान पुर्याएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले बताए ।