२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

२० औं वार्षिकोत्सव र विशेष दीक्षान्त समारोहको तयारीमा लुम्बिनी बौद्ध विश्वविद्यालय

बुधवार , मंसिर १२, २०८१

भैरहवा, १२ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालय २० औं वार्षिकोत्सव, तेस्रो विशेष दीक्षान्त समारोह तथा १७ औं सभाको बैठकको तयारीमा जुटेको छ । यही मंसिर १४ गते शुक्रबार लुम्बिनीमा तेस्रो दीक्षान्त समारोह आयोजना गर्ने निर्णय गरे अनुरुप विश्वविद्यालय दीक्षान्त समारोहको तयारीमा जुटेको हो ।

२० औं वार्षिकोत्सवको अवसरमा तेस्रो विशेष दीक्षान्त समारोह र १७ औं सभाको बैठक प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न हुने विश्वविद्यालयका कुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले बताए । उनका अनुसार विशेष दीक्षान्त समारोह लुम्बिनी विकास कोषस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुनेछ । त्यस्तै सभाको बैठक विश्वविद्यालयको सिनेट हलमा सम्पन्न गरिनेछ ।

विशेष दीक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका गरी २८९ जना विद्यार्थीहरु दीक्षित हुने प्रा.डा. बज्राचार्यले जानकारी दिए । ‘विश्वविद्यालयले पहिलोपटक मानार्थ विद्यावारिधि उपाधि समेत प्रदान गर्दैछ । मंगलबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवद्र्धनमा अतुलनीय योगदान पुर्‍याउनुभएकी भिक्षुणी धम्मावती (गणेश कुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने सभाको निर्णय बमोजिम विशेष दीक्षान्तमा उपाधि प्रदान गर्ने कार्यक्रम तय भएको छ ।’

IMG_5400.JPG

दीक्षान्त समारोहमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वाेत्कृष्ट १३ जना विद्यार्थीहरुलाई विश्वविद्यालय स्वर्ण पदकबाट सम्मान गरिने उनले बताए । समारोहमा विशेष अतिथिका रुपमा म्यानमारका भिक्षु सितगो सायडोको उपस्थिति रहने उनले जानकारी दिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयले सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धानलाई जोड दिने नीति १६ औं सभाको बैठकबाट लिएकाले त्यसको कार्यान्वयनमा काम भइरहेको जानकारी दिए । उनका अनुसार अनुसन्धान केन्द्रमार्फत बौद्ध अनुसन्धान तथा थुप्रै बौद्ध दर्शनका पुस्तक तथा जर्नलहरु प्रकाशित हुँदै आएका छन् । 

‘२०८० देखि ०९० को दशकलाई ‘अबको दशक, प्राज्ञिक र सृजनात्मक’ नारासहित विश्वविद्यालयले प्राज्ञिक कार्यलाई अगाडी बढाइरहेको छ । विश्वविद्यालयमा बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय गरी तीन संकायबाट स्नातक, स्नातकोत्तर तथा विद्यावारिधिसहित ३० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । ती शैक्षिक कार्यक्रमहरुमा २ हजार ३ सय ८ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ६८ जना विदेशी विद्यार्थीहरु विश्वविद्यालयमा अध्ययन गर्देछन्, ’उनले भने ।

वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपतिसहित केपी शर्मा ओली, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधि सभाका सदस्यहरु, प्रदेश सभाका सदस्यहरु, विदेशी राष्ट्रका राजदुतहरुको उपस्थिति रहने डा. आचार्यले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा मंसिर १३ गते बुटवल सिटी क्याम्पस बुटवलमामा रक्तदान कार्यक्रमको आयोजना गरिएको विश्वविद्यालयका सूचना अधिकारी चुरामणि पोखरेलले बताए  । 
त्यस्तै मंसिर १५ गते अन्तर्राष्ट्रिय सेमिनार आयोजना उनले बताए । ‘साउथ एसिया फाउण्डेसनसँगको सहकार्यमा हुने सेमिनारमा १० कार्यपत्र प्रस्तुत हुनेछन् । सेमिनारमा पूर्वमन्त्रीहरु, राजदूतहरु, पूर्व राजदूतहरु, विदेशी विश्वविद्यालयका उपकुलपतिहरुको सहभागीता रहनेछ, ’उनले भने । पोखरलेका अनुसार मंसिर १६ गते विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता देवदहमा हुनेछ । 

२०६१ साल मंसिर १४ गते लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना भएको हो । लुम्बिनीमा औपचारिक रुपमा एक दशकअघि मात्रै विश्वविद्यालयले शैक्षिक कार्यक्रम शुभारम्भ गरेको थियो । केन्द्रीय कार्यालय लुम्बिनीमा स्थापनासँगै भौतिक पूर्वाधार निर्माण गर्दै शैक्षिक कार्यक्रम विस्तारमा जोड दिइएको विश्वविद्यालयले छ ।

लुम्बिनी, बुटवल, देवदहमा विश्वविद्यालयका आंगिक क्याम्पसहरु सञ्चालनमा रहेका छन् । दाङ, काठमाडौं उपत्यका, दोलखामा सहकार्य तथा सम्बन्धन प्राप्त १३ वटा क्याम्पसहरुमा विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा छन् ।