
बुधवार , मंसिर ५, २०८१
तिलोत्तमा, ५ मंसिर । रुपन्देहीको तिलोत्तमास्थित तिलोत्तमा व्यापार संघको आयोजनामा हुने दोस्रो तिलोत्तमा महोत्सव–२०८१ को तयारी पूरा भएको छ । महोत्सव मूल आयोजक समिति तिलोत्तमा व्यापार संघले दिएको जानकारी अनुसार बिहीबारदेखि सुरु हुने महोत्सवका लागि स्टल दर्ता, भौतिक संरचना निर्माण लगायतका काम सकिएका छन् । महोत्सव उदघाटन पूर्व सजावटको काम सम्पन्न हुने संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले जानकारी दिए ।
व्यवसायिक दक्षता अभिवृद्धि र स्वरोजगार : सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार भन्ने मूल नाराका साथ संघले मंसिर ६ गतेदेखि १८ गतेसम्म तिलोत्तमा व्यापार महोत्सव–२०८१ एवं कृषि तथा पर्यटन महोत्सव गर्न लागेको हो । महोत्सव तयारीका लागि गठित विभिन्न समितिहरुले आ–आफ्नो काम अन्तिम चरणमा पुर्याएको मूल आयोजक समितिका संयोजक समेत रहेका अध्यक्ष न्यौपानेले बताए ।
महोत्सवको तयारीका लागि संघले विभिन्न समिति, संघ–संस्था लगायत सरोकारवालाहरुसँग अन्तरक्रिया गरी राय सुझाव समेत लिएको छ । त्यसक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिले यो तिलोत्तमाबासीको साझा महोत्सव भएकाले सबै मिलेर सफल पार्नुपर्ने बताएका छन् ।
महोत्सवका लागि स्टलहरुको विभिन्न पेभेलियन छुट्टयाइएको छ भने बालबालिकाहरुको मनोरञ्जनका लागि बाल उद्यान निर्माण गरिएको छ ।
संघका संस्थापक अध्यक्ष जेपी कंडेलले तिलोत्तमा क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी र पर्यटन क्षेत्रको प्रवद्र्धनमा यो महोत्सवले टेवा पुर्याउने बताए ।
त्यस्तै महोत्सवमा १० करोड बराबरको कारोबार तथा ३ लाख दर्शक भित्र्याइ स्थानीय आर्थिक विकासमा तीव्रता ल्याउने अपेक्षा गरिएको कंडेलले जानकारी दिए ।
तिलोत्तमा व्यापार संघका निवर्तमान अध्यक्ष बाबुलाल भुसालले रुपन्देहीमै यस वर्षको पहिलो महोत्सव तिलोत्तमामा आयोजना गरिएको र यो सफल हुने बताए ।
विभिन्न वस्तु तथा सेवाहरुको एकै स्थलमा प्रर्दशनी गरी ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने, निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, वैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरणको निर्माण गर्ने समेत लक्ष्य महोत्सवले लिएको छ ।
महोत्सवमा जनचेतना र्याली आयोजना, गोष्ठी, कार्यशाला र अन्तरक्रियाको आयोजना, सूचना केन्द्रको सञ्चालन, महोत्सव गतिविधि छायांकन, प्रसारण र वृत्तचित्र प्रदर्शन र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ ।
महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको पनि अध्यक्ष न्यौपानेले जानकारी दिए । स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तु महोत्सवमा राखिने र यहाँ रहने सामानहरुको गुणस्तरमा विशेष ध्यान दिइने पनि उनले बताए । त्यस्तै साँस्कृतिक कार्यक्रमतर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, डान्सिङ र सिंगिङ आइडल लगायतका कार्यक्रमहरु गरिनेछन् ।
त्यस्तै देश–विदेशका व्यवसायीहरुसँग अनुभव आदान–प्रदानको अवसर प्रदान गर्ने, उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध अभिवृद्धि गर्ने, लोक संस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने, कृषि पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन सहयोग गर्ने, अत्याधुनिक प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउने, बजार अनुसन्धान एवं नयाँ वस्तु विकासका अवसर सृजना गर्ने, व्यवसायिक चेतना अभिवृद्धि गर्ने, सूचना प्रविधि सम्बन्धी जानकारी गराउने, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अवसरको खोजी गर्ने समेत उद्देश्य मेलाको रहेको अध्यक्ष न्यौपानेको भनाइ छ ।
आयोजकका अनुसार महोत्सव उद्घाटन अघि बिहीबार बिहान ११ बजे झाँकीसहितको बृहत र्याली निकालिनेछ । महोत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij