२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

तीनदिने चीन भ्रमण सकेर मुख्यमन्त्री आचार्य स्वदेश फिर्ता

बिहिवार , कार्तिक २९, २०८१

  • 559
    Shares
  • 559
    Shares
  • दाङ, २९ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री स्वदेश फर्किएका छन । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर मुख्यमन्त्री आचार्य बिहीबर स्वदेश फर्किएका हुन् । 

    कार्तिक २६ गते सोमबार उनी चीन गएका थिए । सिचुआन प्रदेशका वैदेशिक विभागका उपमहानिर्देशक पाङग्वाङ ल्याङले तियान्फु विमानस्थल पुगेर मुख्यमन्त्री आचार्यसहितको प्रतिनिधि मण्डलको विदाई गरेका थिए । 

    स्वदेश फर्किएका मुख्यमन्त्री आचार्यले सम्मेलनमार्फत लुम्बिनी प्रदेशको समृद्धि र विकासका एजेण्डाहरु स्थापित गर्न सफल भएको बताए । ‘सम्मेलनमार्फत लुम्बिनी प्रदेशको विकासको एजेण्डा र भावी योजनाको बारेमा ध्यानाकर्षण गराउन सफल भयौं’उनले भने,‘लुम्बिनीमा हुने लगानी सम्मेलनको वातावरण निर्माणदेखि विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्ने सवालमा यो भ्रमण ऐतिहासिक रह्यो ।’ 

    सिचुआन प्रदेश र लुम्बिनी प्रदेशबीच भएको मितेरी सम्बन्ध पुर्नताजगी भएको, भ्रमणले लुम्बिनीमा लगानी भित्र्याउन वातावरण निर्माण गर्न सफल भएको, नवीन पर्यटनमैत्री योजना र पूर्वाधार निर्माण तथा सिचुआनको देयाङ नगरसँग लुम्बिनीका नगरपालिकाहरुको मितेरी सम्बन्ध स्थापना गर्ने बारेमा योजना बनाउन सफल भएको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए । 

    सम्मेलनमार्फत मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशभित्र सिचुवान प्रान्तलगायत कुनै पनि प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्र्याउन र लगानी सुरक्षित गर्न आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा सार्वजनिक गरेका थिए ।

    नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लालाई बुद्ध सर्किटसँग जोड्ने योजनालाई कार्यान्वयनमा ल्याउन मोनोरेल सञ्चालनबारे अध्ययनका लागि विदेशी लगानीकर्ता समक्ष उनले योजना अघि सारेका थिए । 

    प्रदेश राजधानी शहर निर्माण आयोजना, भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश राजधानी शहर राप्ती देउखुरी जोडन आवश्यक पर्ने सुरुङमार्ग निर्माण, बुद्ध सर्किटमा पर्ने विभिन्न स्थलमा पर्यटन भौतिक पूर्वाधार निर्माण र मोनोरेल, लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि चिनिया प्राविधिक विश्वविद्यालयको आवश्यक सहयोग, चिनिया विधायन पद्दति र सिकाइका आधारमा लुम्बिनी प्रदेश सभाका सभासदहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग, कृषक, पशुपालकहरुको लागि क्षमता अभिवृद्धि उत्पादित वस्तु बजारीकरण तथा जडीबुटी उत्पादकहरुको लागि क्षमता विकासमा सहयोग तथा बजारीकरणमा सहयोग, पर्यटनस्थल व्यवस्थापन र पथपर्दशन सम्बन्धि जिशिष्ट तालिम एवं भाषा प्रशिक्षणको विषयमा ध्यानाकर्षण गराइएको थियो । 

    सम्मेलनमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा. सागर न्यौपाने र मुख्यमन्त्री आचार्यकी श्रीमती दिपा आचार्य सहभागी थिए । 

    वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगेनी सम्बन्ध कायम गरिएको थियो । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले सिचुआन प्रान्तबीच भगेनी सम्बन्ध कायम गरेका थिए । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।