२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

एमआरआई ल्याउने सपना असफल हुने चिन्ता थपियो : लुम्बिनी प्रादेशिक अस्पताल

मंगलवार , कार्तिक २७, २०८१

  • 514
    Shares
  • 514
    Shares
  • बुटवल, २७ कार्तिक । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा स्थापनाका लागि विगत ४ वर्षदेखि हुँदै आएको प्रयास यसपटक पनि असफल हुने चिन्ता थपिएको छ । मेशिन खरिदका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढिसकेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा गलत ढंगका प्रचारबाजी भएको भन्दै उक्त सपना यसपटक पनि तुहिने हो कि भन्ने चिन्ता थपिएको अस्पताल प्रशासनले जनाएको छ । 

    सोमबार पत्रकार सम्मेलन गरी अस्पताल प्रशासनले खण्डन गरेको छ । अस्पतालले मेशिन खरिदका लागि यही कातिक १ गते बोलपत्र आह्वान गरेको थियो । ‘एनसीबी’ अर्थात नेश्नल कम्पिटेटिभ विडिङ अनुसार आह्वान गरिएको बोलपत्रमा अधिकतम मुल्य १५ करोड राखिएकोमा सोही मुल्यमै सामान खरिद गरिएको जसरी गलत प्रचार भएको अस्पताल प्रमुख डा. इन्द्र ढकालले गुनासो गरे । ‘बोलपत्रमा उल्लेख गरिएको रकममा सप्लायर्स कम्पनीहरुले प्रतिष्पर्धा गर्दा सबैभन्दा कम मूल्य कबोल गर्ने कम्पनी छनोट भइ उसैले खरिद गर्ने हो ।’–ढकालले भने, ‘सामान्यतया कम्पनीहरुले २०÷२५ प्रतिशतसम्म कम मूल्यमा कबोल गर्ने प्रचलन रहेको हुँदा हामीले खरिद गर्न लागेको मेशिनको मूल्य पनि कम हुने अनुमान गरका छौं ।, तर बजारमा गलत हल्ला बढी भयो ।’ 

    सामान आपुर्ति गर्न सक्ने स्वदेशी कम्पनीहरु हुँदाहुँदै एनसिबीमा जान उपयुक्त ठानेर नै आइसिबीमा नगएको समेत उनले प्रष्ट पारे । सार्वजनिक खरिद ऐन अनुसार ५ अर्ब बढी लागत मूल्य पर्ने, जटिल सामान भनी ‘पिपिएमओ’ले सिफारिस गरेका, दातृ निकायको सहयोग तथा स्रोतबाट खरिद गर्नुपरेमा तथा स्वदेशी सप्लायर्स कम्पनीहरुले प्रतिष्पर्धा गर्न नसक्ने अवस्थामा मात्रै आइसिबीमा जानुपर्ने बाध्यकारी अवस्था रहेको उनले स्पष्ट पारे । त्यसैगरी विगतका टेण्डरहरुमा आईसिबी विधिबाट जाँदा विश्व बजारमा डरलको भाउ घटबढ हुँदा त्यसको प्रभावले टेण्डर नै रद्द गर्नुपरेको घटनालाई आधार मानेर एनसिबी विधि अपनाएको उनले उल्लेख गरे । 

    बजारमा फैलाइएको हल्ला जस्तो अस्पतालले पुरानो मेशिन खरिद गर्ने नभइ पुरानो प्रविधिको नभई विश्व बजारमा हाल आएकाभन्दा केही पुरानो प्रविधि भएको उल्लेख गरे । प्रदेश सरकारले उपलब्ध गराएको १५ करोड बजेटबाट नयाँ प्रविधिको मेशिन खरिद गर्न सम्भव नभएकै कारण पुरानो प्रविधिको मेशिन खरिद गर्नुपर्ने बाध्यता रहेको उनले स्पष्ट पारे । ‘हामीले खरिद गर्ने भनेको पुरानो मेशिन नभई केही पुरानो प्रविधिको भने हो । जुन तेस्ला १.५ प्रविधि हो, यसलाई २ तेस्लामा अपग्रेड गर्न सकिन्छ ।’–प्रमुख ढकालले भने, ‘जबकी विश्व बजारमा ३ तेस्ला पनि आएको छ, यसको मूल्य २५ देखि ३० करोड बढी पर्छ उक्त रकम हामीसँग नभएकै कारण पुरानो प्रविधिले भए पनि सेवा दिनुपर्छ भन्ने हाम्रो चाहना हो ।’

    सरकारले प्रयाप्त बजेट उपलब्ध गराएको अवस्थामा आफूहरुले पनि ३ तेस्ला मेशिन खरिद गर्न तयार हुने उनले उल्लेख गरे । खरिद कार्यलाई अझ पारदर्शी र प्रतिष्पर्धी बनाउन सार्वजनिक खरिद अनुगमन कार्यालयमा सम्पूर्ण कागजातसहित आवश्यक राय तथा निर्देशनको लागि पठाइने समेत उनले स्पष्ट पारे । त्यहाँबाट प्राप्त निर्देशनका आधारमा थप काम कारवाही अगाडी बढाइने उनले बताए । 

    लुम्बिनी प्रदेश सकारको गौरव आयोजनाको रुपमा रहेको यस अस्पताललाई १२ सय सैय्यामा स्तरवृद्धिका लागि अन्डरग्राउण्डसहित १२ तले अत्याधुनिक भवन निर्माणका काम भइरहेको छ । लुम्बिनी प्रदेशसहित छिमेकी प्रदेशका जिल्लाहरु समेत गरी यहाँ १६ बढी जिल्लाका सेवाग्राही आउने गर्दछन् । अस्पतालबाट गत आर्थिक वर्षमा मात्रै साढे ३ लाखले स्वास्थ्य सेवा लिएको तथ्यांक रहेको छ ।