
आइतवार , कार्तिक २५, २०८१
भैरहवा, २५ कार्तिक । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा यही मंसिर २० गतेदेखि भैरहवामा ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’ (पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) हुने भएको छ । महोत्सव मंसिर २० देखि पुस १ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार भन्ने नाराका साथ वि.सं. २०६१ सालदेखि प्रत्येक दुई वर्षमा महोत्सव आयोजना गरिदै आएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोवक ठाकुर कुमार श्रेष्ठले बताए ।
‘नवौं पटक आयोजना हुने महोत्सवले स्वदेशी एवं गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगहरुप्रति उपभोक्ताहरुलाई जागरुक बनाइ सीमावर्ती बजारमा पाइने सामानहरुबीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरुलाई जानकारी दिने, स्थानीयस्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीको बजार प्रवद्र्धन गर्ने विश्वास लिइएको छ, ’उनले भने ।
विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरुले भाग लिने यो महोत्सवमा ३ सय वटा स्टलहरु रहने उनले जानकारी दिए ।
मेला अवधिमा करिब रु. १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा विस्तार गर्न, यस क्षेत्रका विभिन्न जातजातिका कला–संस्कृतिको पनि संरक्षण गर्दै मुख्यतः आन्तरिक र बाह्य पर्यटनलाई प्रवद्र्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा विशिष्टता पहिचान भएको वस्तु तथा उत्पादनहरुको प्रदर्शनी तथा महिला उद्यमीहरुले भाग लिनहुनेछ, ’उनले भने । यसपटक स्टलको संरचना फरक र आकर्षक हुने उनको भनाइ छ ।
‘लुम्बिनीमा बाह्य तथा आन्तरिक पर्यटकहरुको चासोलाई अभिवृद्धि गर्ने खालको महोत्सवसँग सान्दर्भिक विभिन्न प्रस्तुति, स्थानीय पर्यटन विकास तथा स्थानीय सीप र साधनको प्रयोग हुने घरेलु उत्पादनको प्रवद्र्धनको लागि विभिन्न सराकोरवालाहरुलाई एकै स्थलमा ल्याइ छलफल गोष्ठीको आयोजना गरी कार्ययोजना समेत तय गर्ने कार्यक्रम छ । यस क्षेत्रका विद्यालयहरुका विद्यार्थीहरुलाई विभिन्न प्रतियोगिताहरुका माध्यमबाट महोत्सवसँग जोड्ने र आर्कषित गर्ने कार्यक्रमहरु समेत आयोजना गरिनेछ, श्रेष्ठले भने ।
संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले महोत्सवका लागि हालसम्म १५० वटा स्टल बुक भइसकेको जानकारी दिए । उनले महोत्सव सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यवाहक अध्यक्ष कमल रायमाझीले महोत्सवले पर्यटन प्रवद्र्धनका साथै बजार चलायमान बनाउने बताए । उनले भने, ‘यस्तो परिस्थितिमा महोत्सवलाई निरन्तरता दिनु नै ठूलो कुरा हो ।’
सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव एवं महोत्सवको प्रचार प्रसार समिति संयोजक मंगल भण्डारीको स्वागत तथा संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij