
बुधवार , आश्विन २३, २०८१
भैरहवा, २३ असोज ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा कार्यस्थलमा मानसिक स्वास्थ्य विषयक गोष्ठी सम्पन्न भएको छ । अस्पतालको नशा तथा मानसिक रोग विभागको आयोजनामा बुधबार निरन्तर मेडिकल शिक्षा (सि.एम.ई.) अन्तर्गत गोष्ठी भएको जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए ।
कार्यक्रममा कार्यस्थलमा मानसिक स्वास्थ्य भन्ने विषयमा विज्ञहरुले कसरी काम गर्ने वातावरण मैत्रीपूर्ण, सम्मानजनक, अपनत्व महसुस गर्ने तथा सुमधुर बनाउने भन्ने विषयमा भनाइ राखेका थिए ।
नशा तथा मानसिक रोग विभाग प्रमुख प्रा.डा.सन्दिप सुवेदीको सभापतित्व तथा अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस.को आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा.अनमोल बन्धु कार्कीले स्वागतका साथ कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
डा.मोहम्मद नसिम अकरम मिकरानीको सञ्चालनमा भएको कार्यक्रममा कार्यपत्र प्रस्तोताको रुपमा मानसिक रोग विभागका आवासीय चिकित्सक डा.शैली श्रेष्ठले मानसिक स्वास्थ्यको महत्व, चुनौती र अवसर, विश्वव्यापी रुपमा यसलाई मनाइने कारण, कार्यस्थलमा मानसिक स्वास्थ्यको भूमिका र प्रभाव लगायतका बारेमा भनाइ राखेका थिए ।
युसीएसएस शिक्षण अस्पतालका प्राचार्य प्रा.डा.लक्ष्मी पाठकले कुनै पनि व्यक्ति मानसिक रुपमा स्वस्थ नभएसम्म उसले आफ्नो काममा पूर्ण रुपमा योगदान दिन नसक्ने भएकाले मानसिक स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेको बताइन् ।
कार्यक्रममा सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरीटेण्डेण्ट प्रा.डा.साधन मुखी, मेट्रोन विष्णु गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।
हाल विश्वमा करिब २० प्रतिशत मानिसहरु र त्यसमा पनि बालबालिका तथा किशोरहरु मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन् । प्रत्येक वर्ष अक्टोबर १० तारिखमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij