२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सिद्धार्थ उद्योग बाणिज्य संघका क्रम सङख्या १, ३ र ५ का लक्की उम्मेदवार

आइतवार , फाल्गुण २३, २०७७

भैरहवा, २३ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी कार्यकालका लागि भएको निर्वाचनबाट रोचक मत परिणाम आएको छ । दुईवर्षे कार्यकालका लागि शनिबार भएको निर्वाचनमध्ये उद्योग तर्फका सदस्यको मतपरिणाम रोचक आएको हो ।

उद्योगतर्फका ५ जना सदस्यका लागि ११ जना चुनावी मैदानमा थिए । ११ जनामध्ये क्रम संख्या १, ३ र ५ का उम्मेवारले मत पनि सोही अनुरुप पाएका छन्। क्रम संख्या १ मा रहेका युवा उद्योगी मंगल भण्डारीले सर्वाधिक मत लिएर १ नम्बरमा कायम रहेका छन् । १ हजार ५ सय ६५ खसेको मतमध्ये भण्डारीले १ हजार २ सय ८८ मत लिएर १ नम्बरमा रहन सफल भएका छन् ।

त्यस्तै क्रम संख्या ३ मा रहेकी रचना क्षेत्री मतका आधारमा पनि तेस्रो स्थानमा आएकी छन् ।  तेस्रो नम्बरमा रहेकी क्षेत्रीले ८ सय ८ मत ल्याउदै आफुलाई तेस्रो स्थान सुरक्षित राख्न सफल भएकी हुन् । उद्योगतर्फका ११ जना उम्मेदवारमध्ये महिला उम्मेवार उनी एक्ली थिइन् । उम्मेदवारी दर्ताको अघिल्लो दिनबाट मात्रै चुनावी दौडमा रहेकी उनले सबैलाई चकित पार्ने गरी मत परिणाम ल्याएकी छन् ।

त्यस्तै क्रम संख्या ५ मा रहेका हरी बहादुर थापा पनि मत परिणाममा पनि पाँचौ स्थानमा आएका छन् । ५ जना सदस्यको लागि भएको निर्वाचनमा ७ सय ३९ मत ल्याएर थापा पाँचौ स्थानमा सुरक्षित हुन सफल भएका हुन् ।

निर्वाचित ५ जनामध्ये ९ सय ५० मत लिएर रमेश घिमिरे दोस्रो स्थानमा मत ल्याएका छन् भने ७ सय ५१ मत ल्याएर भुवन कुमार कान्दु चौथो स्थानमा मत ल्याउन सफल भएका छन् ।