२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भने : जोखिमबाट मुक्ति पायौँ

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं, ११ असोज । नारायणी नदी पार गर्नका लागि झोलुंगे पुल निर्माण भएसँगै नवलपरासी सुस्तावासीमा खुशीयाली छाएको छ ।

गत असोज १० गते बिहीवार (हिजो) राष्ट्रपति रामचन्द्र पौडेलले नारायणी नदीमाथि बनाइएको १५७२ मिटर लामो त्रिवेणी महेशपुर (सुस्ता) मल्टिसपान झोलुगे पुल उद्घाटन गरेसँगै स्थानीयवासी हर्षित भएका हुन् । उनीहरुले वर्षोदेखि डुंगाको जोखिमपूर्ण यात्राबाट पार पाइएको र नेपाली भूमिबाटै जिल्लाको बजार र सदरमुकाम जानका लागि धेरै सहज भएको प्रतिक्रिया दिएका छन् । सो झोलुंगे पुलले आफूहरुलाई धेरै सुविधा दिएकाले आफूहरु सबै खुशी रहेका स्थानीयवासीको भनाई थियो । 

सो अवसरमा राष्ट्रपति पौडेलले सो क्षेत्रका लागि एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति पनि शुभारम्भ गरेका थिए । सोलार पावरमा भर पर्नुपर्ने अवस्था अन्त्य भएको भन्दै स्थानीयले आपसी खुशी साटासाट गरे । अब २४ घण्टा नै बिजुली बत्ति आउने आशा आफूहरुले गरेको उनीहरुको भनाई थियो ।


सुस्तामा सो पुल बनेसँगै डुंगामा भाडासहित जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ । पुलको अभावमा सरकारी सेवा लिन समेत भारतको भूमिहुँदै गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्था थियो ।