२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

पोषणमार्फत जीवन रुपान्तरण परियोजनाका गतिविधि समुदायको पोषण सुधारमा केन्द्रित

शनिवार , आश्विन ५, २०८१

परासी, ५ असोज ।

एकीकृत हातेमालो समाज नेपालले पश्चिम नवलपरासीका चार गाउँपालिकामा लागू गरेको पोषणमार्फत जीवन रुपान्तरण परियोजनाले आफ्ना गतिविधि अघि बढाएको छ । समुदायमा पोषण सुधार गर्ने उद्देश्यले जिल्लाको पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा पोषणमार्फत जीवन रुपान्तरण परियोजना सञ्चालन गरिएको हो । 

कृषि तथा खाद्य प्रणाली, आपूर्ति तथा साना बजार उद्योग र खानेपानी सरसफाइ र स्वच्छता (वास) सुधारको नतिजामा केन्द्रित रहने यो परियोजनाले पोषण संवेदनशीलतामा काम गर्ने परियोजनाका कार्यक्रम व्यवस्थापक सुनिल कुमार केसीले जानकारी दिए । हाललाई ९ महिनाका लागि सञ्चालनमा रहे पनि यो परियोजनाले जिल्लामा आगामी सन् २०२८ सम्म काम गर्ने उनले बताए ।

परियोजनाले जिल्लाका चार गाउँपालिकाका गर्भवती महिला, नवजात शिशु र साना बालबालिकाहरुमा केन्द्रित भइ समुदायको पोषण हितमा सुधार गर्ने संस्थाले जनाएको छ । हेलन केलरमार्फत वेस नेपालले यसै जिल्लामा लागू गरेको पोषणमार्फत जीवन रुपान्तरण परियोजनाले नतिजा नम्बर १ देखि ५ सम्मको लक्ष्यमा काम गर्छ भने एकीकृत हातेमालो समाज नेपालले सुरु गरेको यो परियोजनाले नतिजा नम्बर ६, ७ र ८ को लक्ष्य हासिलमा केन्द्रित रहने जनाएको छ । 

कृषि तथा खाद्य प्रणालीको नतिजा प्राप्तीका लागि परियोजनाले पर्याप्त, सुरक्षित र पौष्टिक खानाहरुमा भौतिक र आर्थिक पहुँच बढाउने छ । जसका लागि पालिका तथा वडास्तरमा पोषण र खाद्य सुरक्षा सञ्चालन समितिहरुसँग समन्वय गरी सामुदायिक परिचालन गरिनेछ भने लक्षित घरपरिवारबीच स्वस्थ आहार अभ्यासमा सुधार, राम्रो पोषण बानीको विकास र स्थानीय पौष्टिक खाना तयारीको ज्ञानका लागि पौष्टिक खाना तयार गरी प्रदर्शनी गरिने परियोजना संयोजक केसीले बताए ।

त्यसै गरी घर तथा करेसाबारी व्यवस्थापन तालिम, नर्सरी खेतीका लागि बीउ र सामग्री सहयोग, कम्पोष्ट पिट निर्माण सामग्री सहयोग, सामुदायिकस्तरको प्रदर्शन प्लट विकास गर्ने, भूमिहीन तथा सीमान्तकृत परिवारलाई कुखुरा तथा बाख्रा सहयोग गर्ने लगायतका गतिविधि अघि बढेको परियोजनाले जनाएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले परियोजनाका गतिविधि प्रभावकारी रुपमा सञ्चालन भई नतिजा प्राप्तिमा केन्द्रीत रहनुपर्नेमा जोड दिए । 

सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी, सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले पालिकासँग सहकार्य गरी गतिविधि अघि बढाउन र पालिका पनि सहयोग सहकार्य गर्न तयार रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय तहले प्राथमिकताका साथ महिला तथा बालबालिका लक्षित पोषण कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिँदै पोषणमैत्री पालिका निर्माणमा सबैको सहयोगका साथ अघि बढ्न आग्रह गरिन् । 

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारीले सीमा क्षेत्रका पछाडि परेका समुदायको पोषण सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको यो परियोजनाले उक्त समुदाय लाभान्वित हुने विश्वास व्यक्त गरे । 

संस्थाका अध्यक्ष डिल्लीराम गिरीले परियोजनालाई प्रभावकारी बनाउन र लक्षित समुदायको पोषण सुधार गरि जीवन रुपान्तरण गर्न जिल्लास्थित सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै संस्थाले सहकार्य गरेर गतिविधि सञ्चालन गर्ने बताए ।