
बिहिवार , आश्विन ३, २०८१
भैरहवा, ३ असोज ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्नेमा जोड दिएका छन् । उनले प्रदेशको सीमांकन पनि सच्याउनुपर्ने बताए ।
जनमत पार्टी रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रम तथा दशैं, तिहार, छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘अमेरिकामा दुई पार्टी छन्, दुई पार्टी कहिल्यै मिलेर सरकार बनाउँदैनन् । एउटा आकाश र एउटा पाताल जस्तै हुन् । भारतमा विजेपी–काँग्रेस मिले के हुन्छ ? नेपालमा कांग्रेस र एमाले कसरी मिले ? आकाश–पाताल मिलेका छन् । यो अनिष्ट र विनाशको संकेत हो । संविधान संशोधनको लागि मिलेको भन्छन् ।’
अध्यक्ष राउतले संविधान संशोधन गरेर समानुपातिक प्रणाली खारेज गर्ने, दुई पार्टी मात्र रहने निर्वाचन प्रणाली ल्याउने भनेर अहिलेको गठबन्धन बनेको दावी गरे । उनले यो खतराको घण्टी भएको बताए ।
प्रतिनिधि सभा सदस्य समेत रहेका राउतले संविधानमा गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता पाइएकोले यी उपलब्धीको कदर गर्नुपर्नेमा जोड दिए । उनले मधेश आन्दोलन, नाकाबन्दी र विभिन्न आन्दोलनका बाबजुद बन्दुकको बलमा संविधान जारी भएको बताए । अध्यक्ष राउतले संविधान दिवसलाई पार्टीले कालो दिनका रुपमा मनाउँदै आएको बताए । शासक वर्गको भ्रमबाट बच्नुपर्ने उनको भनाइ छ । पार्टीको संगठनकै कारण जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व पाएको उनले बताए ।
कार्यक्रममा पार्टीका सचिव बाल गोविन्द चौधरी, भोपेन्द्र प्रसाद यादव, राष्ट्रिय परिषद अध्यक्ष एवं संगठन विभाग प्रमुख डा. जयकान्त राउत, लुम्बिनी प्रदेश इञ्चार्ज राजेन्द्र गुप्ता, पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य चन्द्रकेश (सिके) गुप्ता, सुमन शर्मा, प्रदेश सभा सदस्य गीता गुरुङ लगायतले बोल्दै संगठनलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।
जनमत पार्टी रुपन्देहीका इञ्चार्ज रामकेश गुप्ताको अध्यक्षता, केन्द्रीय सदस्य निर्मला हरिजनको स्वागत तथा केन्द्रीय सदस्य रामअवध गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij