२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

रुपन्देहीमा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै

सोमवार , भाद्र ३१, २०८१

  • 580
    Shares
  • 580
    Shares
  • भैरहवा, ३१ भदौ ।
    संविधान दिवस जिल्ला मूल समारोह समिति रुपन्देहीले संविधान दिवस–२०८१ को अवसरमा जिल्लामा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । समितिको आइतबार भैरहवामा बसेको संविधान दिवस पूर्वतयारी बैठकले असोजको २, ३ र ४ गते कार्यालय तथा घरघरमा दीप प्रज्वलन गर्ने, राष्ट्रिय झण्डा फहराउने, संविधान दिवसको महत्वका विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने, जिल्लामा फरक क्षमता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने, सञ्चार माध्यमबाट सचेतनामूलक सन्देश प्रकाशन/प्रशारण गर्ने, संवाद, परिसंवाद गर्ने लगायतका कार्यक्रमहरु आयोजना गरी मनाउने निर्णय गरेको छ ।

    समारोहका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बसेको बैठकले असोज २, ३ र ४ गते जिल्लास्थित सरकारी निकायहरु, स्थानीय पालिकाहरु, संघ–संस्थाका आ–आफ्नो कार्यालय र परिसरमा तोकिए बमोजिमका राष्ट्रिय झण्डा राख्ने तथा दीप प्रज्वलन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आयोजनामा राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधि, संघ–संस्थाका प्रमुख, पालिकाका प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थितिमा बसेको बैठकले विगत वर्षहरुमा भन्दा फरक र प्रभावकारी तरिकाले संविधान दिवस मनाउने निर्णय गर्दै फरक क्षमता भएका विद्यार्थीहरुको पहिचान गरी उपयोगी शैक्षिक तथा खेलकुद सामग्री प्रदान गर्ने र सोको संयोजन शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले गर्ने निर्णय गरिएको छ ।

    गृह मन्त्रालयको परिपत्रका आधारमा बसेको बैठकले रक्तदान तथा स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने र यसका लागि स्वास्थ्य कार्यालय रुपन्देहीले नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरी कार्यक्रमको व्यवस्थापन गर्ने निर्णय भएको छ । 

    त्यस्तै जिल्ला प्रशासन कार्यलयले संविधान दिवस सम्बन्धी विचार विमर्श कार्यक्रमको आयोजना गर्ने, सबै पालिकाको समन्वयमा बुटवल उपमहानगरपालिकाले  माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने,  डिभिजन वन कार्यालय सैनामैनाको समन्वयमा वृक्षारोपण गर्ने लगायतका कार्यक्रमहरु गरी संविधान दिवस मनाउन लागिएको जिल्ला मूल समारोहका संयोजक उमाकान्त चपाईले जानकारी दिए ।

    सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको सञ्चालनमा सम्पन्न बैठकमा दिवसलाई प्रभावकारी बनाउन पालिकाले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरिएको थियो ।