२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

नेपाल प्रजापति संघ रुपन्देहीद्वारा रक्तदान

आइतवार , भाद्र ३०, २०८१

  • 583
    Shares
  • 583
    Shares
  • भैरहवा, ३० भदौ ।
    नेपाल प्रजापति (कुम्भकार) संघ जिल्ला कार्यसमिति, रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भैरहवास्थित भीम अस्पतालमा भएको कार्यक्रममा २९ यूनिट रगत संकलन भएको संघका जिल्ला प्रवक्ता दिलिप प्रजापतिले जानकारी दिए ।

    कार्यक्रमको उद्घाटन गर्दै भीम अस्पतालकी प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. शकुन्तला गुप्ताले रक्तदान जीवनदान भएको बताइन् । उनले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नेपाल प्रजापति (कुम्भकार) संघ रुपन्देहीले रक्तदान कार्यक्रम गर्नु सराहनीय रहेको बताइन् । ‘अझै पनि रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम छ । यस्ता कार्यक्रमले ती भ्रमहरुलाई चिर्न मद्दत गर्छ । रक्तदान गर्नु स्वास्थ्यका लागि पनि राम्रो हो, ’उनले भनिन् ।

    त्यस्तै विश्व हिन्दू परिषद् नेपाल रुपन्देहीका अध्यक्ष गोपाल उपाध्यायले मानिसलाई निरोगी बनाउन नेपाल प्रजापति (कुम्भकार) संघको भूमिका महत्वपूर्ण रहने बताए । ‘माटोको भाडाको प्रयोगमार्फत शहरलाई प्लाष्टिकमुक्त बनाउन सक्छौं, यसका लागि प्रजापति संघको विशेष भूमिका छ, ’उनले भने । संघले रक्तदानलगायत विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिदै जानुपर्ने उपाध्यायले बताए ।

    नेपाल प्रजापति (कुम्भकार) संघ रुपन्देहीका सह–सचिव एवं कार्यक्रम संयोजक श्याम कोहारको अध्यक्षता, मनोज प्रजापति (महाकाल) को स्वागत तथा नेपाल प्रजापति (कुम्भकार) संघ रुपन्देहीका सचिव विरेन्द्र कुमार कोहारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    भीम अस्पताल रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम भएको कार्यक्रम संयोजक श्याम कोहारले बताए ।

    IMG_7912.JPG