आइतवार , भाद्र १६, २०८१
सिओल, १६ भदौ ।
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले आइतबार राजधानी सिओल (सुवन) मा भेटघाट तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेपाली महिलाहरुको माइतीसँगको विशेष मिलनको पर्व तीजको अवसरमा जिल्लासहित नेपालका विभिन्न स्थानबाट कोरियालाई कर्मथलो बनाइ बस्ने चेलीहरुलाई दर खुवाउने तथा भेटघाट गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको मञ्चका अध्यक्ष रुद्र पौडेलले बताए ।
विगतका वर्षहरुमा भन्दा यो वर्ष कोरियामा नेपाली महिलाको संख्यामा वृद्धि भएकाले उनीहरुलाई तीजको झल्को मेटाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक मनोज पौडेलले बताए । कार्यक्रममा करिब ९० जना महिलाको सहभागीता रहेको थियो ।
कोरिया सरकारले आप्रवासी कामदारलाई ई ७ भिषा परिवर्तन प्रक्रियालाई खुकुलो बनाएसँगै परिवार ल्याउने नेपालीको संख्यामा वृद्धि हुँदा कोरियामा नेपाली महिलाको बाहुल्यता बढेको हो । कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष बुद्धि गुरुङ, नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि खनाल लगायतको उपस्थिति थियो ।
मञ्चले कोरियामा कार्यरत आप्रवासी नेपालीका विभिन्न समस्या समाधान गर्न सम्बन्धित निकायसँगको समन्वयमा स्थापनाकालदेखि नै काम गर्दै आएको निवर्तमान अध्यक्ष तथा लुम्बिनी प्रदेश सम्पर्क समिति कोरियाका अध्यक्ष हिमाल खनालले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij