२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

पत्रकार पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित

शनिवार , श्रावण १२, २०८१

  • 637
    Shares
  • 637
    Shares
  • बुटवल, १२ साउन । 
    रोटरी क्लब अफ रुपन्देहीले प्रदान गर्ने रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२३ बाट पत्रकार भगवती पाण्डे पुरस्कृत तथा सम्मानित भएकी छन् । शुक्रबार आयोजित क्लबको १३ औं पदस्थापन कार्यक्रममा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । 

    पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रमा कलम चलाई समाजलाई योग्दान पुर्याएको भन्दै उनलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान पत्र र दोसल्लाले पुरस्कृत तथा सम्मान गरिएको हो ।

    उनलाई प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण पूर्व डिष्ट्रिक्ट गर्भनर संजय गिरी तथा जितेन्द्र बहादुर राजभण्डारी, वर्ष २०२३/२४ अध्यक्ष हरि लम्साल र पुरस्कारका संस्थापक तथा क्लबका पूर्वअध्यक्ष गौतम भुसालले संयुक्त रुपमा सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

    क्लबका पूर्व अध्यक्ष गौतम भुसालले आफ्ना स्वर्गीय हजुरबुवा केशवराज एवं हजुरआमा हिमादेवी भुसालको स्मृतिमा क्लबमार्फत नियमित प्रदान गर्ने गरी स्थापना गरिएको पुरस्कार हरेक वर्ष रुपन्देहीलाई कार्य क्षेत्र बनाएर सामाजिक क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई दिइँदै आएको उनले बताए । गत वर्ष उक्त पुरस्कार खबरपात्रो डटकमका प्रधान सम्पादक दीपक घिमिरेलाई प्रदान गरिएको थियो । यस वर्ष सम्मानित तथा पुरस्कृत पाण्डे बुटवलमा रहेर विगत १८ वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत छिन् । उनी लुम्बिनी टेलिभिजनकी समाचार प्रमुख तथा सेतोपाटी डटकमको लुम्बिनी प्रदेश संवाददाता हुन् । उनी प्रेस चौतारी नेपाल रुपन्देहीको उपाध्यक्ष समेत हुन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख खाणले क्लबले यस क्षेत्रको सामाजिक हितमा गरेको कार्यहरुको लागि बधाई दिदै आफू यस क्लबका गतिविधिहरुसँग जानकार रहेको बताए । उनले क्लबले प्रदान गरेको उपकरणहरुबाट तिलोत्तमा नगरपालिकाले सेमरा बजार स्वास्थ्य चौकीमा निःशुल्क सेवा समेत दिइरहेको बताए । 

    सेमरा बजार स्वास्थ्य चौकीलाई मातृ शिशु अस्पतालका रुपमा स्तरोन्नति गर्न रोटरी क्लब अफ रुपन्देहीले ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत एक करोड बढीको स्वास्थ्य उपकरण सहयोग गरेको छ । 

    यसैबीच पदस्थापनको अवसरमा वर्ष २०२४/०२५ का अध्यक्ष प्रमोद पन्थीलाई पूर्व डिष्टिक्ट गर्भनर संजय गिरीले पद तथा गोपनीयताको सपथ गराएका थिए भने निवर्तमान अध्यक्ष हरी लम्सालले पदस्थापन गराएका थिए । पदस्थापन तथा सपथसँगै अध्यक्ष पन्थीले आफ्ना माता पिताको सम्मान गर्नुका साथै क्लबका पूर्व अध्यक्षहरूलाई पनि सम्मान गरेका थिए । उनले नयाँ बोर्डलाई पद तथा गोपनीयताको सपथ समेत खुवाएका थिए ।