२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

एमालेका चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्री बन्दै

सोमवार , श्रावण ७, २०८१

  • 982
    Shares
  • 982
    Shares
  • भैरहवा, ७ साउन । 
    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य बन्ने भएका छन् । उपनेता आचार्यले पार्टीले आफूलाई सरकारको नेतृत्वको जिम्मेवारी दिएको र सोहीअनुसार प्रदेश प्रमुख समक्ष दावी पेश गर्न जाने तयारीमा रहेको जानकारी दिए । 

    एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी प्रसाद चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न लागिएको बताए ।  प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि सोमबार (आज) साँझ साढे ६ बजेसम्मको समय दिएका छन् । 

    आचार्य महासचिव शंकर पोखरेल निकट मानिन्छन् । संसदीय दलका नेता लीला गिरीलाई ब्याक गरेर आचार्यलाई अघि सारिएको हो ।

    अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ को १ बाट दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन् । यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आचार्य आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । त्यसपछि एमाले दल नेता लिला गिरी नेतृत्वको सरकारमा उनी ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री भए। माओवादी नेता जोख बहादुर महराको नेतृत्वको सरकारमा भने उनी आर्थिक मामिला तथा योजना मन्त्री थिए ।

    यसअघि संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो । गिरी एमाले पोलिटव्यूरो सदस्य हुन् । उनी रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को १ बाट दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । गिरी एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल निकट मानिन्छन् ।

    एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टीका महासचिव शंकर पोखरेलले फोन गर्दै चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन भनेपछि सोहीअनुसार नाम परिवर्तन गरिएको बताए।