
सोमवार , आषाढ ३२, २०८१
म्याग्दी, ३१ असार ।
ढोरपाटन सिकार आरक्षमा पछिल्लो समय राजस्व संकलनमा वृद्धि हुँदै गएको छ । विशेष गरी विदेशी पर्यटकले सिकार गर्दे आइरहेको ढोरपाटन शिकार आरक्षमा प्रत्येक वर्ष सिकार खेल्नेको संख्या वृद्धि हुँदै जानु र सिकार टेण्डरको मूल्यवृद्धि हुँदै जाँदा राजस्वमा वृद्धि हुन थालेको हो ।
ढोरपाटन सिकार आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लामा पर्दछ । दुई सिजनमा हन्टिङको निम्ति टेण्डर आह्वान गरेर उक्त क्षेत्रमा नाउर र झारलको सिकार गर्ने गरिन्छ ।
विदेशीका निम्ती सिकार शोखिनको पाटो हुँदै गर्दा निश्चित कोटा खुलाएर सिकार आरक्ष भित्र रहेका वन्यजन्तुको सिकार हुँदै आएको छ । गत आर्थिक वर्षमा कुल ३ करोड ४८ लाख राजस्व संकलन गरेको सिकार आरक्ष कार्यालयले आर्थिक वर्ष २०८०÷२०८१ मा राजस्व वृद्धि गर्न सफल भएको हो ।
चालु आर्थिक वर्षमा कुल ४ करोड २६ लाख ८८ हजार सिकारबाट, पर्यटक प्रवेश शुल्कबाट १३ लाख संकलन भएकोक छ । त्यस्तै काठदाउरा र नदीजन्य पदार्थको पूर्जीबाट २० लाख ९३ हजार र सिकारी ल्याण्ड हुँदै गर्दा हेलिकप्टर अवतरण शुल्क ५७ हजार गरी कुल ४ करोड ६२ लाख ३० हजार राजस्व संकलन भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका संरक्षण अधिकृति मन्दिप पंगेनीले जानकारी दिए ।
सिकार आरक्षभित्र हाल १ हजार २ सय ९० नाउर र ७ सय ४४ वटा झारल रहेका छन । प्रत्येक ५ वर्षमा उक्त जनावरको गणना हुँदै आएको छ । चालु आर्थिक बर्षमा २४ वटा सम्म नाउर र १४ झारल सिकारको कोटा खुल्ला गरिएकोमा १८ झारल र ११ नाउर गरी ३० वटा जनावरको सिकार भएको अधिकृत पंगेनीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij