
सोमवार , आषाढ २५, २०८१
भैरहवा, २४ असार ।
नेपाली कांग्रेस रुपन्देहीले पार्टीलाई चलायमान तथा गतिशील बनाउन विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको बैठकले क्रियाशील सदस्यहरुको नवीकरण गर्नेदेखि जिल्लास्तरीय प्रशिक्षण गर्नेसम्मका निर्णयहरु गरेको छ ।
केन्द्रको परिपत्र अनुसार १४ औं महाधिवेशनपछिको क्रियाशील नवीकरण यही साउनभित्र सक्ने गरी पालिकामार्फत सम्पूर्ण वडामा पठाउने र वडाहरुले साउनभित्र नै नवीकरण गरेर जिल्लामा पठाउनुपर्नेछ । पुरानो क्रियाशील नवीकरणको आधारमा नयाँ क्रियाशील सदस्यको लागि सिफारिस गरिने कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । त्यस्तै साउन महिनाभित्र नै जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरिएको उनले बताए । उनका अनुसार सदस्यहरुको क्षमता वृद्धिका लागि जिल्लास्तरीय आवासीय प्रशिक्षण आयोजना गर्न लागिएको हो ।
बैठकले ४२ औं विपी स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । दिवसको अवसरमा आगामी साउन ६ गते बिहान तिलोत्तमा नगरपालिका–११ स्थित सुखौरा हरियाली सामुदायिक वनमा वृक्षारोपण गरिने कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले जानकारी दिए ।
त्यस्तै जिल्ला सदस्य स्वर्गीय अमर बहादुर चौधरीको नवौं पुण्यतिथिको दिन यही असार २८ मा उनको निवास देवदह–११ स्थित सिक्टहनमा जिल्लास्तरीय शोक सभाको आयोजना पनि गरिने भएको छ ।
पार्टीका सबै तह र तप्काका नेता–कार्यकताहरुलाई सबै कार्यक्रमहरुमा सक्रिय सहभागीता जनाउन समेत कांग्रेस रुपन्देहीले आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij