२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

पत्रकार महासंघको निर्वाचन यथाशिघ्र गर्न प्रेस सेन्टर लुम्बिनीको माग

मंगलवार , आषाढ ५, २०८१

  • 676
    Shares
  • 676
    Shares
  • दाङ, ४ असार । 
    प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले नेपाल पत्रकार महासंघको निर्वाचन यथाशिघ्र गर्न माग गरेको छ । संगठनको दाङमा सोमबार सम्पन्न बैठकले विभिन्न बहानामा महासंघको निर्वाचन सारिनु गलत रहेको निष्कर्षसहित यथाशिघ्र निर्वाचन गर्न माग गर्ने निर्णय गरेको सेन्टरका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विकले जनाकारी दिए ।

    ‘प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश समिति, जिल्ला इञ्चार्ज, अध्यक्षसहितको उपस्थितिमा सम्पन्न बैठकले श्रमजीवी पत्रकारको छाता संगठन पत्रकार महासंघको निर्वाचन समयमै नहुनुले यसको गरिमामाथि नै प्रश्न उठ्न सक्नेतर्फ सचेत हुन केन्द्रिय नेतृत्वलाई दवाव दिने निर्णय गरेको छ । अध्यक्ष विकले भने, ‘हामी इमान्दारिताका साथ शुद्धीकरण अभियानलाई टुंगोमा पुर्याउने र जस्तोसुकै त्याग गरेर भए पनि यथाशिघ्र महासंघको निर्वाचन गर्ने कुरामा प्रतिबद्ध छौँ, सोहीअनुसार केन्द्रिय नेतृत्वलाई दबाब दिन्छौं ।’

    बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश सचिव तथा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका फ्र्याक्सन इन्चार्ज कृष्ण कुमार अधिकारी (प्रकाश)ले १२ वटै जिल्लाबाट एकमत एकताका साथ निर्वाचनमा लाग्न निर्देशन दिए । उनले पार्टीको नयाँ विधान अनुसार संगठनहरूलाई नयाँ विचारको संश्लेषणसहित विधि निर्माणको प्रयास भइरहेको समेत बताए । संगठन निर्माणमा नेता कार्यकर्ताको इमान्दारिताको मूल्यांकन विधिसहित प्रेस सेन्टरलाई अन्य संगठन भन्दा राम्रो र फरक खालको बनाउन उनले सुझाव दिए । 

    त्यसै गरी सेन्टरका केन्द्रिय उपमहासचिव यानेन्द्र जिसीले श्रमजीवी पत्रकारको हकहितमा लड्ने संस्थालाई विवादित गराउने कार्यमा कोही पनि संलग्न नहुन आग्रह गरे । उनले भने, ‘पत्रकार महासंघ रातारात बनेको संस्था होइन, यसलाई संस्थागत गर्न अग्रजले गरेको त्याग र यसको गरिमाको बारेमा महासंघको नेतृत्वले नजरअन्दाज गर्न मिल्दैन ।’

    बैठकले लुम्बिनी प्रदेश सरकारलाई सञ्चार माध्यम सूचीकृत गर्ने कार्य आर्थिक वर्षको सुरुवातसँगै  सुरू गर्न अनुरोध गर्ने निर्णय गरेको जनाइएको छ । ‘सञ्चारमाध्यम सूचीकृत गर्ने र लोक कल्याणकारी सूचना आर्थिक वर्षको उत्तरार्धमा गर्ने कार्य गलत छ’ सेन्टरका वरिष्ठ प्रदेश उपाध्यक्ष रुद्रहरी कुंवरले भने, ‘बैठकले पत्रपत्रिका, रेडियो, टेलिभिजनसँगै अनलाइनलाई पनि सूचीकृत गर्न र लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन आग्रह गर्ने निर्णय भएको छ, संगठनले त्यसको लागि पहल गर्छ ।’

    बैठकमा १२ वटै जिल्लाका जिल्ला इन्चार्ज, अध्यक्षले आगामी निर्वाचनको लागि जिल्लाले गरेको तयारीबारे ब्रिफिंग गरेका थिए । बैठकले पत्रकार महासंघको निर्वाचनको तयारीमा जुट्न जिल्ला शाखालाई निर्देशन दिएको जनाइएको छ ।