२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि १ अर्ब ८० करोड विनियोजन

शनिवार , आषाढ २, २०८१

  • 856
    Shares
  • 856
    Shares
  • बुटवल, १ असार । 
    रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले १ अरब ८० करोड विनियोजन गरेको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०८१र८० को बजेट प्रस्तुत गर्दै अस्पतालका लागि बजेट बजेटको व्यवस्था गरेको उल्लेख गरे ।

    प्रदेश गौरव आयोजनाका रुपमा रहेको अस्पतालको अत्याधुनिक १२ तले भवन निर्माणको काम भइरहेको छ । अस्पतालमा पछिल्लो पाँच वर्ष यता संघीय सरकारको लगानीमा दुईपटक गरी ५८ करोडको लागतमा भौतिक संरचना निर्माण गरिएका छन् । अस्पताल विकास समितिले पनि इमर्जेन्सी, ओपिडी, अन्तरंग सेवा, फार्मेसी, अस्पताल परिसरभित्रको सडक र अस्पताल कम्पाउण्ड वाल निर्माण लगायतमा ३५ करोड बढी लगानी गरेको छ ।

    अस्पतालको डीपीआर अनुसार भवनको अगाडिको भागमा अत्याधुनिक बहिरंग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्यूरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् । भवनको माथि हेलिप्याड रहनेछ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ ।

    क्यान्सर उपचारका लागि भने अन्डरग्राउण्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ । १२ तलाको नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीनवटा नयाँ भवनमा डाइग्नोष्टिक एण्ड रिसर्च, प्रसूति र महिला तथा बालरोगको उपचारका लागि प्रयोग गरिनेछ ।  

    सरकारी तीन सय र अस्पताल विकास समितिमार्फत् एक सय गरी चार सय बेडको मात्र स्वीकृति पाएको अस्पतालमा बिरामीहरूको अत्याधिक चापका कारण १ सय २४ बेड थप गरी ५ सय २४ बेडबाट बिरामीहरूलाई सेवा प्रदान भइरहेको छ ।

    अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. इन्द्र ढकालले लुम्बिनी प्रादेशिक अस्पतालले लुम्बिनी प्रदेशका मात्र नभइ अन्य प्रदेशका समेत गरी ४० लाख जनसंख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए । अस्पतालमा दैनिक रूपमा ओपिडीतर्फ १ हजार ५ सयदेखि २ हजार र इमर्जेन्सीमा २ सयदेखि २ सय ५० जनासम्म बिरामी आउने गर्छन् ।

    हालै मात्र क्याथ ल्याब सेवा सञ्चालन गरिएको अस्पतालबाट मृगौलाको डायलाइसिस, प्लाष्टिक सर्जरी, ग्याष्ट्रो मेडिसिन, न्यूरो मेडिसिन, न्यूरो सर्जरी, युरो सर्जरी, इन्टेरेस्कोप, सिएनसियू, पिआइसियु, एनआइसियु, बर्थिङ सेन्टर, नेत्र रोग, हाडजोर्नी तथा नशा रोग, दन्त, नाक, कान घाँटी, आँखा, मनोरोग लगायतका विशिष्टीकृत सेवा सञ्चालनमा छन् ।