२०८३, श्रावण ३१ गते

Aug 16 2026 | २०८३, श्रावण ३१ गते

सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन

बिहिवार , जेठ १०, २०८१

  • 946
    Shares
  • 946
    Shares
  • बुटवल, १० जेठ । 
    लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गौतम बुद्ध सत्ताको सिंहासन त्यागेर शान्ति खोज्ने विश्वको पहिलो मानव भएको बताएका छन् । २५६८ औं बुद्ध जयन्ती तथा किराँत समुदायको उभौली पर्वको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले मानव इतिहासमा सत्ता त्यागेर शान्तिको खोजीमा निस्किने बुद्ध पहिलो मानव भएको बताएका हुन् ।

    सन्देशमा भनिएको छ, ‘मानवीय हित, समानता, कल्याण र शान्ति प्राप्तिको दार्शनिक अध्ययन, अनुसन्धान गर्न राज दरवार र सिंहासन त्यागगरी पैदल यात्रा गर्दै गाँउ– गाँउ, बस्ती–बस्ती पुग्ने महामानव नेपाली हुनुले हामी नेपालीको गौरवतालाई उचो बनाएको छ । सत्ता प्राप्तिको लागि विभिन्न हिंसात्मक घटनाका दृष्टान्तहरु देखिएको विश्व राजनीतिको इतिहासमा आफ्नै सिंहासन त्याग गरी दृढ संकल्पका साथ जनताको माझमा पुग्ने विश्वका एक मात्र पहिलो मानव गौतमबुद्ध नै हुनुहुन्थ्यो ।’

    ‘बुद्धले मानव जगतलाई एक सुन्दर, अनुशासित, समानता, अहिंसा, शान्ति, सम्मानमा आधारित समाज बनाउने सन्देश दिएको र जीवनलाई प्रगतिशील कार्यमा लगाएर समाजलाई सामाजिक न्यायतर्फ रुपान्तरण बुद्धको मुल सन्देश हो ।’ सन्देशमा उल्लेख छ, ‘विश्वभरि देखिएका विभिन्न हत्या, हिंसा, घृणा, दमनका रुपहरुको निरुपणमा बुद्धको सन्देश अति सान्दर्भिक छ भन्ने मलाई लाग्दछ ।’

    त्यसै गरी किराँत समुदायले मनाउँदै आएको उभौली पर्वले आफ्नै मौलिक संस्कृतिको जर्गेना गर्दै सबैलाई सामाजिक सद्भाव र मेलमिलापको सन्देश दिएको प्रदेश प्रमुख शेरचनको भनाइ छ ।