
सोमवार , जेठ ७, २०८१
भैरहवा, ७ जेठ ।
वैदेशिक रोजगारका लागि विदेश जानेहरू रूपन्देही जिल्लाका युवाहरू अग्रस्थानमा रहेको पाइएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमकी रूपन्देही संयोजक सिता पन्थ भण्डारीका अनुसार आर्थिक वर्ष २०६४/२०६५ देखि २०८० पुस मसान्तसम्म रूपन्देहीका १ लाख ५५ हजार ८ सय १५ जनाले श्रम स्वीकृति लिएका थिए ।
श्रम स्वीकृत लिएकामध्ये ९९ प्रतिशत वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । सामी कार्यक्रम संयोजक भण्डारीले भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारीमा जाने रूपन्देहीका युवाहरूको संख्या दैनिक बढ्दै गएको बताइन् । उनका अनुसार आर्थिक वर्ष २०७९।०८० मा २३ हजार २ सय ५९ जनाले तथा चालु वर्षको पुस मसान्तसम्म १० हजार ९ सय ९४ जनाले श्रम स्वीकृति लिएका थिए ।
यसरी श्रम स्वीकृति लिएर जानेहरूको अहिले मुख्य गन्तव्य भनेको मलेसिया, कतार, साउदी अरब, कुबेत, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस, माल्दिभ्स लगायतका देश हुन् ।
श्रम स्वीकृति नलिइ भिजिट भिसा तथा पर्यटक भिसामा गइ त्यतै काम गरेर बस्नेहरुको संख्या पनि अत्यधिक रहेको भण्डारीले बताइन् । श्रम स्वीकृति नलिइ अवैध रुपमा रोजगारीका लागि विदेश जानेहरूले धेरै दुःख पाउने गरेको र उनीहरूको उद्वार गर्न चुनौती रहेको पन्थले बताइन् ।
युवतीहरू अहिले वैदेशिक रोजगारमा जाने गरेको तर धेरै युवतीहरू असुरक्षित तरिकाले भारतीय भूमि हुँदै विदेश पुग्ने गरेको र त्यहाँ पुगेर जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य बनाइने गरेको र त्यहाँ धेरै घरेलु कामदारका रुपमा रहेर काम गर्दा घरेलु हिंसाको सिकार भएको पाइएको उनले बताइन् । दलालका प्रलोभनमा परी महिलाहरू चोर बाटो हुँदै वैदेशिक रोजगारीमा जाने गरेका छन् । कतिपय महिलाहरू त वैदेशिक रोजगारीका नाममा भारतका बिभिन्न शहरमा बेचिने गरेको घटनाहरू बढिरहेको पन्थले बताइन् ।
वैदेशिक रोजगारीमा जानेहरूले सूचना तथा जानकारी अभावले गर्दा वैदेशिक रोजगारीबारे जानकारी नहुनु, अभिमुखीकरण तालिम नपाउने, बीमा, सम्झौता, लागत, कम्पनी देश मेनपावरका विषयमा ज्ञान नहुँदा दुःख पाइरहेकाले यी विषयहरूमा वैदेशिक रोजगारमा जानेहरूका लागि परामर्श सामीले प्रदान गर्दै आएको पन्थले बताइन् ।
सामीले सूचनामा पहुँच, सीप विकास तालिम, न्यायमा पहुँच, कानूनी सहजीकरण, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता लगायतका विषयमा काम गर्दै आएको पन्थको भनाइ छ ।
सामी कार्यक्रम वैदेशिक रोजगारीमा जान चाहनेहरू, उनीहरूका परिवारका लागि सहजीकरण गर्ने कार्यक्रम हो । सामी कार्यक्रमले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, एवं शोषणरहित बनाउन नेपाल सरकार र स्विस सरकारबीच भएको सम्झौता अनुसार सञ्चालित कार्यक्रम हो ।
हेल्भेटास नेपाल साझेदारका रुपमा रहेको यो कार्यक्रम रूपन्देहीका सिद्धार्थनगर, तिलोत्तमा नगरपालिका बुटवल उपमहानगरपालिका र कञ्चन गाउँपालिकामा सञ्चालनमा रहेको सामी संस्था रूपन्देहीकी रुबिता पुलामी कार्कीले बताइन् ।
वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि परामर्श, गन्तव्य देशका विविध पक्षको बारेमा लगायत अभिमुखीकरण, वैदेशिक रोजगारबाट फर्केर गएकाहरूलाई वित्तीय साक्षरता परामर्श साथै रोजगारमा रहेकाका परिवारहरूलाई बिभिन्न तालिम दिइ स्वरोजगार बनाउने, हिंसामा परेकाहरूको उद्वार एवं कानूनी उपचारका लागि परामर्श एवं सहयोग प्रदान सामी कार्यक्रमले गर्ने गरेको कार्कीको भनाइ छ ।
सामीले रूपन्देहीमा हालसम्म १९ हजार ३ सय १३ जनालाई (महिला ५ हजार ३ सय ५६) अभिमुखीकरण कार्यक्रम तथा ४२२ जनालाई वित्तीय साक्षरता दिएको छ ।
हेल्भेटास नेपालका कार्यक्रम अधिकृत जियाउल हकले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले चेलीबेटीहरूलाई अहिले वैदेशिक रोजगारका लागि भारतीय बाटो हुँदै तेस्रो मुलुक पुर्याइने गरेको घटनाहरू बढिरहेको जनाउँदै सचेतनाको अभावमा चेलिबेटीले दुःख पाएको बताइन् । वैदेशिक रोजगारीमा जानै परे सबै प्रक्रिया पूरा गरी, कुन देश जाने हो त्यो देशको भाषा, रहनसहन, हावापानी, खानपिनलगायतका विषयमा जानकार भएर मात्र जान र वैदेशिक रोजगारमा जाँदा सीप सिकेर जान उनले आग्रह गरिन् । उनले वैदेशिक रोजगारीबाट फर्केर नेपालमै केही गर्न चाहने व्यक्तिहरुका लागि सिद्धार्थनगर नगरपालिकाले तालिम समेत सञ्चालन गरेको बताइन् ।
वैदेशिक रोजगारका लागी १११ देशमा जान पाइन्छ भने व्यक्तिगत श्रम स्वीकृत लिएर रोजगारमा जान सकिने देशहरू १७८ रहेका छन् । अफगानिस्तान, इराक, रसिया, युक्रेन, लिबियामा काम गर्न जान प्रतिबन्ध रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij