२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सेजलाई विशेष महत्वका साथ हेरेका छौं : छविलाल विश्वकर्मा

शनिवार , जेठ ५, २०८१

भैरहवा, ५ जेठ ।
रुपन्देहीमा रहेको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) को पछिल्लो अवस्थाबारे पूर्वमन्त्री, प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्माले जानकारी लिएका छन् । विश्वकर्माले सेजको पछिल्लो अवस्थाबारे जानकारी लिन पुगेका हुन् । 

रोहिणी गाउँपालिका–१ बगाहास्थित सेजभित्र रहेका केही उद्योगी, नेपाल उद्योग परिसंघ लुम्बिनीका प्रतिनिधि, स्थानीय सरकारका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयबासीसमेत सहभागी रहेको कार्यक्रममा उनले सेजलाई कसरी उद्योगमैत्री बनाउन सकिन्छ र स्थानीयले कसरी अपनत्व लिन सकिन्छ भन्ने विषयमा जानकारी लिएका हुन् । 

सहभागीहरुको धारणा सुनेपछि विश्वकर्माले तत्काल सरकारका विभागीय मन्त्रीको सल्लाहमा यसलाई जीवन्त बनाउन पहल गर्ने प्रतिवद्धता गरेका छन् । उनले सेजलाई विशेष महत्वका साथ हेरियो बताए । उनले भने, ‘मैले आफ्नोतर्फबाट हुन सक्ने पहलमा कुनै कमी हुन दिने छैन । ’

IMG_9464.JPG

सेजका इन्जिनियर सबुत डुम्रेले पछिल्लो समय यहाँभित्र रहेका धेरै समस्या समाधान भएको बताए । उनले यहाँको उद्योगीलाई यसअघि लगाइँदै आएको निर्यात प्रतिशत घटाएर ३० प्रतिशत पुर्याइएको, विद्युतको समस्या समाधान गर्न डेडिकेटेट लाइन तयार गरेको, प्रक्रिया झण्झटिलो नबनाउन संघीयबाटै सञ्चालन भएको, यहाँ रहेका कामदारले बन्द हड्ताल गर्न नपाउने कानून रहेको र केही कानूनले यहाँ रहेको उद्योगले निर्यात गर्न नसकेका कारण बन्द गराउनुपरेको विषयमा आफूलाई दुःख लागे पनि कानून अनुसार अघि बढ्नुपरेको बताए ।

पछिल्लो समय यहाँ उद्योग सञ्चालन गरिरहेका इको नेपाल इनर्जी उत्पादन प्रा.लि.का सञ्चालक अजयमान श्रेष्ठले अत्यधिक महंगो भाडा भएको र यहाँका आन्तरिक कानून धेरै संशोधन गर्नुपर्ने भएकाले संघीय सरकारले ध्यान दिनुपर्ने बताए । श्रेष्ठले सेजमा किन अहिलेसम्म उद्योग भरिएन ? भन्दै प्रश्न गरे । यहाँ उत्पादित सामग्री निर्यात गर्न नसकेकै कारण तिर्नुपर्ने बिगो जरिवाना कम गर्नुपर्ने, निर्यातमा राज्य उदार बन्नुपर्ने। निर्यात सिलिङलाई अझै घटाउनुपर्ने र आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने नीति बनाउनुपर्ने सुझाए । 

नेपाल उद्योग परिसंघका लुम्बिनी उपाध्यक्ष बाबुराम बोहोराले सरकारले बनाएका हरेक कानुन उद्योगमैत्री नभएको र बाहिरभन्दा यहाँ आएर फरक के भन्ने विषय गन्जागोह भएकाले समस्या रहेको बताए । उनका अनुसार सक्षम उद्योगी आउने वातावरण बनाउन केही नीति फेर्नुपर्ने र भारतबाट सबै सामान ल्याएर उतै यति प्रतिशत बेच्नुपर्छ भन्ने कानुनले समस्या पारेको छ । 

रोहिणी गाउँपालिका अधयक्ष विद्या प्रसाद यादवले यति धेरै लगानी रहेको संरचनालाई जसरी पनि चलाउनुपर्ने बताउँदै उद्योगीहरुलाई स्थानीय सरकार र कामदार राख्ने विषयमा स्थानीयसँग समन्वय गर्न आग्रह गरे । उनले स्थानीय सरकारबाट पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । 

रोहिणी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष आबिद अलि पठानले सरकार फेरिएपछि नयाँ मन्त्री आउने तर सेज भने अपेक्षाकृत रुपमा चल्न नसकेको बताए । उनले केही अप्ठयारो नीतिका कारण उद्योगीहरु सेजमा आउन नसकेको बताए ।

IMG_9423.JPG