
बुधवार , जेठ २, २०८१
भैरहवा, २ जेठ । रुपन्देहीको मर्चवारमा रहेको एक फार्मेसीले अस्पताल दिने सेवा दिएको पाईएको छ । मर्चवारी गाउँपालिका ३ सेमरहवामा संचालित नैना हेल्थ क्लिनिकका फार्मेसी संचालकले बिशेषज्ञ डाक्टर सहितको अस्पतालले प्रदान गर्ने शल्यक्रियासम्मको काम गर्ने गरेको पाइएको छ । स्थानीय पूजाकुमारी बरईको नाममा कर कार्यालयमा दर्ता रहे पनि अन्य कुनै निकायमा उक्त क्लिनिक दर्ता नभएको अनुगमनका क्रममा फेला परेको छ ।
दर्ताविनै संचालनमा रहेको उक्त क्लिनिकमा बीफार्मा पढेको बताउने भारतीय नागरिक नागेन्द्र मिश्राले नेपालको फर्जि नागरिकता बनाएर विरामीको शल्यक्रिया समेत गर्ने गरेको पाइएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वमा गएको टोलीले क्लिनिक शील गरेको छ । अनुगमन टोलीले विरामीलाई आफू चिकित्सक भएको जनाउँदै शल्यक्रिया गर्दै आएका मिश्रालाई नियन्त्रणमा लिएको अनुसन्धान शुरु गरेको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार मिश्राले क्लिनिकमा विरामीको पायल्स, हर्निया, पत्थरी लगायतको शल्यक्रिया गर्दै आएका थिए । मिश्रालाई पक्राउ गरेपछि थप अनुसन्धान सुरु गर्न प्रहरीलाई जिम्मा लगाइएको छ । क्लिकमा फार्मेसी पढेको बताउने भारतीय नागरिकले शल्यक्रिया गर्दै आएको सूचना आएपछि सूचनालाई फलो गर्दै त्यहाँ पुगेको प्रजिअ अर्यालले जानकारी दिए ।
स्थानियको सुचनाका आधारमा अनुगमन गर्न पुग्दा सुचना सही भएको पाइयो’, उनले भने, ‘अहिलेसम्म मिश्राले उपचार गरेका विरामीहरुसँग बुझ्छौं, अन्य पाटाहरु अनुसन्धान गर्छौं र यसमा संलग्न अरु भए खोज्छौं, त्यसपछि बाँकी कुराहरु बाहिर आउलान् ।’
क्लिनिकमा एउटा कोठामा बेड राखिएको थियो । यत्रतत्र औषधि छरिएका थिए भने कयौं म्याद गुज्रेका औषधि समेत भेटिएका थिए । यस्तै, सिरिन्ज लगायतका पुनःप्रयोग गर्न नमिल्ने औषधिहरु भुइँभरी छरपस्ट रुपमा फालिएको थियो ।
स्थानीयका अनुसार मिश्राले आफूलाई चिकित्सक बताउने गरेका थिए । त्यहाँ उपचारमा जानेहरुलाई क्लिनिकको भित्रपट्टी रहेको कोठामा रहेको बेडमा राखेर शल्यक्रिया गर्ने गरेका थिए । यस्तै झ्यालमा किला गाडेर सलाइन पानी चढाउने, अक्सिजन दिने लगाएतका काम गरिरहेको फेला परेको थियो ।
कानूनतः फार्मेसिस्टले औषधि मात्र विक्री गर्न पाउँछन् । तर, मिश्राले आफूलाई चिकित्सक बताएर धमाधम शल्यक्रिया गरिरहेका थिए । प्रशासनको टोली पुग्दा उनले एक बृद्धको शल्यक्रिया गरिरहेका थिए । त्यहाँ उपचारमा आएका विरामीहरुमध्ये केहीले आफूहरु शल्यक्रियाका लागि आएको, कतिले शल्यक्रिया पछि फ्लोअपमा आएको बताएका थिए । ‘विरामीहरुसँगको कुराकानी, शल्यक्रिया गरिरहेको अवस्था मिश्रा भेटिनुले गैरकानूनी भएको ठहरभयो, त्यसपछि फार्मेसील शील गरेर मिश्रालाई नियन्त्रणमा लिएका हौं’, प्रजिअ अर्यालले भने ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख गौरब ढकालले स्वास्थ्य संस्था संचालनका लागि आवश्यक कुनै पनि निकायमा दर्ता नगरी क्लिनिक संचालन गरेको र गैरकानूनीरुपमा फार्मेसी पढेको व्यक्तिले विरामीको शल्यक्रिया गर्ने गरेको पाइएको जानकारी दिए । उनले मिश्रालाई प्रहरीले अनुसन्धान गर्ने र त्यसपछि आवश्यक कानूनी कारबाही हुने उल्लेख गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij