२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

मकवानपुर उवासंघको टोली सिद्धार्थ उवासंघमा

मंगलवार , जेठ १, २०८१

भैरहवा, १ जेठ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले मकवानपुर उद्योग वाणिज्य संघको अध्ययन/अवलोकन भ्रमण टोलीलाई स्वागत गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा आएको भम्रण टोलीलाई मंगलबार भैरहवामा स्वागत गरिएको हो । 

नेपालको विभिन्न उद्योग वाणिज्य संघहरूको अध्ययन अवलोकन गर्ने सन्दर्भमा उक्त संघ उद्योग वाणिज्य संघ, रुपन्देहीमा आएको हो । उक्त कार्यक्रममा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललित घलान तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख सल्लाहकार डि.बी. ढकालको समेत उपस्थिति रहेको थियो । 

स्वागत एवं छलफल कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले यस किसिमको कार्यक्रमले व्यवसायिकसँगै संस्थागत एकता सुदृढ गर्नमा समेत सहयोग पुर्याउने बताए । अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको सहभागीता बिना आर्थिक समृद्धि नहुने भन्दै सरकारले निजी क्षेत्रसँग हातेमालो गर्दै जानुपर्ने बताए । उनले यस किसिमको भेटघाटले दुवै क्षेत्रका उद्योगी–व्यवसायीको समस्या पहिचान गरी सुझाव दिन सकिने र नियमन निकायले ठूला उद्योगी–व्यवसायीलाई मात्र नभइ साना उद्योगी–व्यवसायीहरुलाई पनि सहज हुने नीति निर्माण गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले उद्योगी–व्यवसायी र स्थानीय तहरुले गर्ने विकास निर्माणका कार्यमा समन्वयकारी भूमिका रहेको हुँदा आफू निजी क्षेत्रसँगै भ्रमणमा आएको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघले गरेको आतिथ्यताप्रति उनले आभार व्यक्त गरे । 

बागमती प्रदेश मुख्यमन्त्रीका सल्लाहकार डि.बी. ढकालले निजी क्षेत्र र स्थानीय तह आर्थिक पाटोमा मिलेर जान सक्ने धारणा व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले आर्थिक मन्दीका कारण नयाँ उद्यम सृजना गर्ने जोश जाँगर हराउदै गएको बताए । उनले उद्योगी–व्यवसायीहरुलाई तीन तहमा कर लिने तर, सेवासुविधा शुन्य हुने भएकाले त्यसतर्फ नियमनकारीले ध्यान दिनुपर्ने धारणा राखे ।

WhatsApp Image 2024-05-14 at 5.09.41 PM (2).jpeg

कार्यक्रममा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले उद्योग वाणिज्य संघ–रुपन्देहीले गरेको आतिथ्यता तथा कार्यप्रगतिको प्रशंसा गरे । उनले मकवानपुर उवासंघको संक्षित जानकारी दिदै व्यवसायिक ऐक्यवद्धताका लागि उद्योग वाणिज्य संघ–मकवानपुर सँगसँगै बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

छलफलमा उद्योगी–व्यवसायीका समस्या आर्थिक नीति, राजस्व नीति, झनझटिलो कर प्रणाली लगायतका विषयमा दुई उद्योग वाणिज्य संघबीच साझा अवधारणा बनाएर समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानार्कषण गराउने विषयमा प्रतिवद्ध भएको सिद्धार्थ उद्योग वाणिज्य संघकी कार्यकारी सचिव कमला बस्नेतले बताइन् ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा निवर्तमान अध्यक्ष तथा महासंघका केन्द्रिय सदस्य, उपाध्यक्षहरु, कार्यसमिति सदस्य, महिला उद्यमी लगायत १९ जनाको टोली भ्रमणमा छ ।

टोलीले सिद्धार्थ उद्योग वाणिज्य संघको सचिवालयको समेत अवलोकन गरेको थियो । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा महासंघका केन्द्रिय सदस्य भीष्म प्रसाद न्यौपाने, पूर्वअध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, कुल प्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्य, कर्पोरेट उपाध्यक्ष रोहित कुमार अग्रवाल, कोषाध्यक्ष कमल प्रसाद मरासिनी, सचिव मंगल भण्डारी, सह–कोषाध्यक्ष संजय बेरिवाल, कार्यसमितिका सदस्यहरू, परामर्शदाता र कर्मचारी कार्यकारीहरुको उपस्थिति रहेको थियो । 

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको अध्यक्षता, संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले धन्यवाद ज्ञापन एवं स्वागत तथा महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।