भैरहवा, २८ बैशाख । एक बर्ष अघिसम्म सिद्धार्थनगर नगरपालिकाको व्यस्त सडकहरु छाडा चौपायाका कारण कुरुप र अव्यवस्थित थिए । शहरका मुख्य सडक देखि भित्रि गल्लीसम्म गाई, गोरु, साढे लगाएतका चौपायाले भरिभराउ थिए ।
नगरक्षेत्र भरी भरिभराउ गाईबस्तुका कारण नगरको सौन्दर्यतामा असर गर्नुका साथै दुर्घटनाको जोखिम पनि उच्च थियो । अव्यवस्थीत चौपायाका कारण कतिपय नागरिक दुर्घटनाको जोखिममा परी अङगभङ भएका थिए।
प्राय सबैजसो सडकहरुमा गाडी घोडा नै हिड्नै नमिल्ने गरि बाटो छेकेर चौपाया बस्दा सिद्धार्थनगर नगरपालिकाको सौन्दर्यतामा निकै समस्या परेको थियो । पैदल यात्रुसंगै सवारी चालकले भोग्नु सम्मको सास्ती भोगेका थिए भने नगरपालिकाका पदाधिकारी तथा कर्मचारीलाई टाउको दुखाईको बिषय बनेको थियो ।
तर, अहिले अबस्था फेरिएको छ । सडकमा फाट्टफुट्ट रुपमा गाई बस्तु देखिएपनि बिगतमा जस्तो छाडा चौपाया देखिएक छैनन् ।
सिद्धार्थनगर नगरपालिकाले राष्ट्रिय गौँ संरक्षण तथा अनुसन्धान केन्द्रको सहकार्यमा छाडा चौपाया (गाई‐गोरु) व्यवस्पाथनलाई अभियानकै रुपमा सञ्चालन गरेपछि अहिले त्यसको असर कम देखिएको हो । सिद्धार्थनगर प्रमुख इश्तियाक अहमद खानले छाडा छाडिएका गाई‐गोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्यकरणमा असर गरेकाले व्यवस्थापनको काम सुरु गरिएको जानकारी दिए ।
‘हामीले गत बर्ष देखि छाडा चौपायाको व्यवस्थापन गर्न सुरु गरेका थियौं, उनले भने, ‘सुन्दर नगर बनाउनमा नगरवासीले पालेका गाईगोरु पनि अबदेखि छाडा नछाड्नेमा हामी विश्वस्त छौँ ।’ नेपालको कानुनले छाडा पशु र चौपाया व्यवस्थापन गर्ने अधिकार तथा जिम्मा स्थानीय सरकारलाई दिएको छ । त्यही अधिकारलाई प्रयोग गर्दै नगरपालिकाले उक्त कार्यलाई आफ्नो प्रमुख दाहित्व सम्झीएर छाडा चौपाया व्यवस्थापनमा लागेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले अभियानको रुपमा छाडा चौपायाको व्यवस्थापन शुरु गरेपछि अहिले सिद्धार्थनगरमा न्युन मात्रामा गाई गोरु देखिन थालेको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दामोदर शर्मा घिमिरे जानकारी दिए ।
‘हामी छाडा चौपाया व्यवस्थापनमा निरन्तर रुपमा लागिरहेका छौं, सबै नगरवासीको सहकार्य र सहभागिता भए यसको व्यस्थापन गर्न खासै कठिनाई हुदैन्, वडा अध्यक्ष घिमिरेले भने ‘गत बर्ष देखि हालसम्म २१४ वटा छाडा चौपाएको व्यवस्थापन गरेका छौ ।’
नगरपालिकाले गत बर्ष १५७ चौपाय व्यवस्थापन गरेको थियो । राष्ट्रिय गौँ संरक्षण तथा अनुसन्धान केन्द्रको सहकार्यमा यस बर्ष पनि ५७ वटा चौपायाको व्यवस्थापन गरिएको घिमिरेले बताए । छाडा चौपाया व्यस्थापनका लागि नगरपालिकाले हालसम्म १३ लाख बढी खर्च गरेको छ । नगरपालिका भित्रै गौशला नहुदा पालिकाले बिभिन्न जिल्लामा रहेका गौशलामा पठाउने गरेको छ ।
छाडा चौपायाको चाप र स्थानियको माग अनुरुप वडा नम्बर ११ मा रहेको सार्वजनिक जग्गामा गाई बस्तु राख्नका लागि होल्डिङ सेन्टर र गौशला निर्माणको काम थालिएका वडा अध्यक्ष घिमिरेको भनाई छ । यहाँ अन्य पालिका, खुल्ला सीमाका कारण भारतबाट र नगरवासीले पनि पालेका गाईगोरु छाडा छाड्ने गर्दा नगरपालिकामा छाडा चौपायाको समस्या देखिएको नगरपालिकाको भनाई छ । छाडा चौपायाले नगर सौन्दर्यकरणका लागि लगाइएका विरुवा, धानखेत लगायतमा नोक्सानी गर्दै आएको स्थानिय विनोद आर्चायको भनाई छ ।
गत बर्ष सम्म त बाटो हिड्नै नमिल्ने गरी बाटैभरि गाई गोरु बस्ने गर्दथे, बाटोमा गुडिरहेका गाडी पल्टाउने, ठेला गाडामा राखेका तरकारी, फलफुल खाईदिने, पल्टाई दिने, बाटोमा हिडेका बटुवालाई हान्ने र लखेट्ने गरेर निकै हैरानी पु¥याउने गरेको आर्चायको भनाई छ । तर, अहिले भने नगरपालिकाको प्रयासमा छाडा चौपाया व्यस्थापन भएपछि अहि सहज भएको छ, आर्चायले भने ‘नगरपालिको असल कामका लागि हामी नगरवासी खुसी छौं।’
छाडा चौपाया व्यवस्थापनको काम नगरपालिकाको मात्र नभएर सबै नगरवासीले हातेमालो गर्दै जानु पर्ने उनको बुझाई छ । दुध दिदा सम्म घरमा पाल्ने, दुध दिन छाडेपछि सडकमा छाड्ने प्रबृतिको अन्त नहुदा सम्म छाडा चौपाया व्यस्थापनमा नगरपालिकाको प्रयास सार्थक नबन्ने स्वयम नगरवासीको बुझाई छ । दुध दिन छोडेपछि गाई बस्तुलाई सडकमा धपाई दिने व्यतिmलाई समातेर सजाए दिनु पर्ने आर्चायके भनाई छ ।
सिद्धार्थ नगरपालिका ८ की रिता थापा पनि सबैको प्रयासमा छाडा चौपायाको व्यवस्थापन संभव हुने बताउछिन् । उनी भन्छिन् ‘नगर पालिकाले गरेको काम अत्यन्तै राम्रो हो, निरन्तर रुपमा काम गरिपनि रहनु भएको छ तर, मुख्य बजारमा भएका छाडा गाई–गोरु व्यवस्थापन भएपनि भित्रि गल्ली तथा बाटोहरुमा भने अहिले पनि अवस्था उस्तै छ, नगरपालिकाको ध्ध्यान अब भित्रि सडकमा भएका छाडा चौपाया तर्फ जानु पर्दछ ।’
बाटो छेकेर बस्ने ती चौपायाका कारण ससाना वालवालिका र बृद्धबृद्धालाई समस्यया रहेको थापाको भनाई छ ।‘ठूलो मान्छे त जसोतसो आफुलाई बचाएर हिड्न सक्लान, स्कुले बालबालिका र बृद्धबृद्धालाई निकै समस्या देखिएको छ, यसतर्फ नगरपालिकाको ध्यान जान जरुरी छ ।
चौपायाकै कारण हुने जनधनको क्षति र सहरी सुन्दरीकरण जोगाई राख्न, गाईगोरु व्यवस्थापन गर्न कान्जी हाउसको निर्माण, नागरिकलाई सचेतना जगाउन स्थानीय सरकारले ठोस योजना ल्याउनुपर्ने देखिन्छ ।