२०८२, चैत्र ८ गते

Mar 22 2026 | २०८२, चैत्र ८ गते

वनवाटिका उत्कृष्ट पर्यटकीय गन्तव्य : मन्त्री अधिकारी

सोमवार , बैशाख २४, २०८१

  • 982
    Shares
  • 982
    Shares
  • बुटवल, २४ वैशाख । 
    लुम्बिनी प्रदेशकी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले तिलोत्तमाको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) लुम्बिनी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै गएको बताएकी छन् । पुर्व पश्चिम र सिद्धार्थ दुईवटै राजमार्गबाट नजिक, समथर र फराकिलो ठाउँमा हरियालीयुक्त प्रशस्त पूर्वाधारहरु बनेकाले वनवाटिका प्रदेशकै नमूना पर्यटकीय स्थल बनेको मन्त्री अधिकारीको भनाइ छ । 

    मन्त्री अधिकारीको सम्मानमा आयोजित कार्यक्रममा उनले वनवाटिकालाई महिला, बालबालिका र जेष्ठ नागरिकमैत्री संरचना थपेर थप आकर्षक र सुविधासम्पन्न बनाउन आवश्यक वजेट व्यवस्था गर्न आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् । आफ्नो मन्त्रालय पाँचवटा महाशाखा भएको सामाजिक विकास मन्त्रालय फुटालेर एउटा मात्र महाशाखासहितको मन्त्रालय भएकाले निकै कम बजेट हुने हुँदा अन्य मन्त्रालयसँग समन्वय गरेर भए पनि बजेटका लागि पहल गर्ने बताइन् ।

    आफू सांसद् मात्र हुँदा पनि पाएको बजेटको केही अंश वनवाटिकालाई पारेको स्मरण गर्दै मन्त्री अधिकारीले सामुदायिक वन र अन्य संघ–संस्थासँग समन्वय गरेर अघि बढ्न सुझाव दिइन् । 

    कार्यक्रममा संस्थाका अध्यक्ष बेलप्रसाद शर्माले संस्थाकी सदस्य अधिकारी  विद्यार्थी राजनीतिदेखि संघर्ष गर्दै सांसद् र मन्त्री पदसम्म पुगेकोमा संस्था गौरवान्वित भएको उल्लेख गर्दै वनवाटिकाभित्र एक लाख लिटर क्षमताको खानेपानी ओभरहेड ट्यांकी, बाबुराम स्मृति पार्क र सडकका लागि बजेट आवश्यक भएकाले सहयोगको आग्रह गरे।

    संस्थाका उपाध्यक्ष खिमलाल पाण्डेले मन्त्री अधिकारीको सहयोगले यसअघि पनि विभिन्न काम भएको चर्चा गर्दै आगामी बजेटमा पनि सक्दो धेरै बजेट व्यवस्था गरिदिन माग गरे । 

    कार्यक्रममा मन्त्री अधिकारीलाई दोसल्ला र कदरपत्रले सम्मान गर्दै बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा उमेर हदका कारण अवकाश पाएका कर्मचारी शेरबहादुर गुरुङलाई ५४ हजार रुपैयाँ नगदसहित विदाई गरिएको र नवनियुक्त व्यवस्थापक राजेन्द्र कंडेल र लेखापाल महेन्द्र बस्नेतलाई स्वागत गरिएको संस्थाका सचिव फर्शुराम भण्डारीले जानकारी दिए ।