images
images

शनिवार, जेठ ५ गते २०८१

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु

images
images
images
शनिवार, बैशाख २२ २०८१
शनिवार, बैशाख २२ २०८१
  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु

    लुम्बिनी, २२ वैशाख । 
    लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी शनिबार (आज) देखि लुम्बिनीमा सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा आयोजित दुईदिने गोष्ठीको उद्घाटन गर्दै ताइवानका भिक्षु मास्टर हुइ गाङग्ले विश्वमा बौद्ध शिक्षाको महत्व बढ्दै गएको बताए । उनले बुद्धको शिक्षालाई आत्मसाथ गर्न सके जस्तोसुकै कठिनाइ पार गर्न सकिने बताए ।

    images
    images
    images

    गोष्ठीमा बोल्दै विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरुले विश्वमा व्याप्त हुँदै गइरहेको प्राकृतिक असन्तुलन, बैमनस्यता र बेमेलको अन्त्यका लागि बौद्ध शिक्षाको जीवनोपयोगी बनाउने गरी प्रवद्र्धनमा प्राथमिकता दिनुपर्ने बताए । राष्ट्र तथा व्यक्तिहरुबीच असमझदारी, पर्यावरणीय हानी नोक्सानी, युद्ध तथा अपराधको बढ्दो ग्राफ न्यूनीकरण गर्नका लागि बुद्धका उपदेशहरुको परिपालना महत्वपूर्ण कडी हुने भन्दै विज्ञहरुले बौद्ध शिक्षालाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिए । बौद्ध शिक्षाबाटै अहिलेका विश्वव्यापी समस्याहरुको समाधान खोजिनुपर्ने विज्ञहरुले उल्लेख गरे ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकायको आयोजनामा शनिबारदेखि लुम्बिनीमा सुरु भएको ‘विश्वव्यापी चुनौतिहरुको समाधान सन्दर्भमा बौद्ध शिक्षाको सान्दर्भिकता’ विषयक अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै विज्ञहरुले बुद्धका शिक्षाको परिपालनाले मानवीय व्यवहारहरु परिवर्तन हुने बताएका हुन् । 

    वातावरणीय असन्तुलन, व्यापारिक प्रतिष्पर्धा, बढ्दो तापक्रम, नयाँनयाँ संक्रमणकालिन ब्याधी तथा युद्ध अपराध जस्तबा विश्वव्यापी समस्याको समाधान बौद्ध दर्शनमा रहेको भन्दै त्यसको खोजी अपरिहार्य रहेको विज्ञहरुले बताए ।

    थाइल्याण्डका प्रा.डा.भिक्षु सुगन्ध (अनिल शाक्य) ले व्यक्तिको जीवनलाई सकारात्मक दिशातर्फ लैजान बुद्धको शिक्षा अनिवार्य रहेको बताए । विश्वमा मैत्री, करुणा र शान्ती कायम गर्न बुद्धको शिक्षा महत्वपूर्ण हुने बताउँदै यस्ता गोष्ठीले यसलाई सघाउ पुर्याउने बताए ।

    त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य डा.रमेशचन्द्र पौडेलले बौद्ध शिक्षालाई व्यवहारिक रुपमा उपयोग हुनेगरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए । विश्वमा झण्डै १ अर्ब बौद्ध अनुयायी रहेको भन्दै उनीहरुलाई जोड्दै बौद्ध शिक्षाको प्रवद्र्धन गर्दा शान्ति र बन्धुत्वको विकास बढ्दै जाने बताए । नेपालको शैक्षिक योजनाहरुमा बौद्ध शिक्षालाई जोडिने उनको भनाइ थियो ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले बौद्ध शिक्षाको प्रसारमा अन्तर्दृष्टि र दृष्टिकोण साझा गर्न, शैक्षिक र साँस्कृतिक मूल्यमान्यता आदानप्रदानलाई गर्न र बौद्ध मूल्यहरूको विश्वव्यापी प्रवद्र्धनमा योगदान पुर्याउन गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

    बौद्धिक विकास मात्र नभइ व्यक्तिमा आवश्यक जीवन सीपको विकास गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताउँदै उनले अन्तर्राष्ट्रिय सेमिनार एक उत्कृष्ट सफलता, सहयोगलाई बढावा दिने, नवप्रवर्तनलाई प्रेरणा दिने र समग्र मानवताको उन्नतिमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

    बौद्ध अध्ययन संकायका डीन डा माणिकरत्न शाक्यले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षालाई व्यवहारिक जीवनमा प्रयोग गर्न आवस्यक रहेको बताए । ‘बुद्ध शिक्षाका बारेमा धेरैलाई थाहा छ र व्यवहारमा उतार्ने थोरै छन् त्यसैले यो शिक्षालाई व्यवहारमा उतार्नेतर्फ सबैले ध्यान दिनुपर्छ’, उनले भने ।

    गोष्ठीको उद्घाटन कार्यक्रममा मास्टर इनसुनको प्रतिनिधिका रुपमा चाइनिज भन्ते दावजिन, जापानका कोहजी ओहकुरा, म्यानमारका भिक्षु शोभित, मंंगोलियका सेन नेगुई, नेपालका खाङसोर रिम्पोछे लगायतले शुभकामना दिदै बौद्ध शिक्षा जीवनका लागि नभइ नहुने व्यवहारिक ज्ञान भएकाले यसको पालना गर्न सबैलाई आग्रह गरे ।
    विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयक गोष्ठीमा आज विभिन्न देशका १४ जना अनुसन्धानकर्ता तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै स्टोनीयाका डा. शोभित शाक्य, बङगलादेशका प्रा.डा. बिजोय बरुवा, म्यानमारका भिक्षु विनय नन्दले बौद्ध शिक्षा र सुशासनलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा चर्चा गरे । 

    श्रीलंकाका डा. सचिनी हन्सिका, सन्सारकै सुखी व्यक्ति फ्रान्सका म्याथु रिकार्डले सुख, शान्ति र अहिंसाका लागि बुद्धको शिक्षा र उपदेशलाई जीवनमा कार्यान्वयन गर्न जरुरी रहेकोमा जोड दिए ।

    भारतका प्रा.डा. उदय कुमार, म्यानमारका प्रा.डा. सटट सान्दार, ताइवानका प्रा.डा. कृस्टी चाङ, म्यानमारका भिक्षु बुद्धघोष, पोर्चुगलका डा. सोनिया गोम्स लगायतले बुद्ध शिक्षाले नैतिक रुपमा उत्तरदायी बनाउने भएकाले यसलाई अंगाल्न आवश्यक रहेको बताए । गोष्ठीमा साहित्यकार सोनु गुरुङ, मोहन सिंह गुरुङ, भिक्षु क्याल्सन लगायतले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

    अहिले विश्वभरका मानिसहरु वातावरणीय संकट, ग्लोबल वार्मिङ, पारिस्थितिक असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक रोग जस्ता विभिन्न प्रकारका समस्याहरुबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट विशेष गरी बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नुपर्ने आवश्यकता देखिएकाले गोष्ठीको आयोजना गरिएको हो ।

    गोष्ठीमा नेपालसहित थाइल्याण्ड, फ्रान्स, स्टोनीया,  म्यानमार, जापान, बंगलादेश, भारत, ताइवान, श्रीलंका, पोर्चुगल, नर्वे लगायतका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरुको सहभागीता छ ।

    गोष्ठीमा आइतबार बौद्ध दर्शन र योगका विषयमा छलफल हुनेछ । जसमा आचार्य बालकृष्ण, डा. चिन्तामणि योगी, भानु शर्मा, प्रा.डा.विशाल सिटौला, प्रा.डा. क्षितिज बराकोटी र डा. विकासानन्दले बौद्ध दर्शन र योगका विषयमा कार्यपत्र प्रस्तुत गर्ने र कार्यपत्रमाथि छलफल गर्ने कार्यक्रम छ । 

    IMG_0032.JPG

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij