images
images

शनिवार, जेठ ५ गते २०८१

सांसद् के.सी.को गुनासो : आगलागीप्रभावित क्षेत्रमा प्रदेश सरकारको उपस्थिति भएन

सांसद् के.सी.को गुनासो : आगलागीप्रभावित क्षेत्रमा प्रदेश सरकारको उपस्थिति भएन

images
images
images
शनिवार, बैशाख २२ २०८१
शनिवार, बैशाख २२ २०८१
  • सांसद् के.सी.को गुनासो : आगलागीप्रभावित क्षेत्रमा प्रदेश सरकारको उपस्थिति भएन

    भैरहवा, २२ वैशाख ।
    लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.) ले आगलागीप्रभावित क्षेत्रमा प्रदेश सरकारको उपस्थिति नदेखिएको गुनासो गरेकी छन् । उनले प्रदेश सरकार कहाँ सुतेको छ भन्दै प्रश्न गरेकी हुन् ।

    images
    images
    images

    लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको चौथो बैठकमा बोल्दै सांसद् के.सी.ले प्रदेश सरकारको उपस्थिति नभएको आगलागीबाट पीडित जनताको पनि गुनासो रहेको बताइन् । उनले भनिन्, ‘म यसै बैठकबाट विनम्र अनुरोध गर्न चाहन्छु, त्यहाँ (आगलागीप्रभावित क्षेत्रमा) प्रदेश सरकारले ध्यान देओस्, तत्कालै पीडितलाई राहत उपलब्ध गराओस् ।’ नागरिकले प्रदेश सरकारको उपस्थिति खोजेको उनको भनाइ थियो ।

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) संसदीय दल लुम्बिनी प्रदेशकी प्रमुख सचेतकसमेत रहेकी के.सी.ले कतिपय स्थानीय तहमा दमकल नरहेको बताइन् । उनले भनिन्, ‘सबै स्थानीय तहमा दमकल राख्न नसकिएला । तर, दुई–तीनवटा पालिका समेटेर दमकलको व्यवस्था गर्नुपर्छ । प्रत्येक जिल्लामा दमकलको व्यवस्था हुनुपर्छ। ’

    कतिपय अवस्थामा एकैपटक आगलागी हुँदा सीमित संख्यामा रहेका दमकल कहाँ कहाँ पुग्न सक्छन् भन्दै उनले प्रश्न गरिन् । अबको आर्थिक वर्षमा पालिकाहरुलाई दमकल किन्ने बजेटको व्यवस्थापन प्रदेश सरकारबाट गर्न उनले आग्रह गरिन् ।

    अन्नभण्डार मानिने रुपन्देहीको मर्चवार क्षेत्र तथा रोहिणी गाउँपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिकालगायत विभिन्न क्षेत्रमा आगलागी हुँदा करोडौंको धनमाल क्षति भएको उनले बताइन् । आगलागीबाट धेरै घरमा क्षति भएको र कतिपय घरहरु पूर्ण रुपमा जलेर नष्ट भएको उनले बताइन् ।

    विशेष गरी गर्मी मौसममा वर्षेनी आगलागीका घटना हुने गरेको उनले बताइन् । ‘विपद् बाजा बजाएर आउँदैन । तर, विपद्को सामना गर्न पूर्वतयारीका लागि प्रदेश सरकारले काम गर्न सकेको छैन, ’उनले भनिन् । उनले प्रदेश सरकारले प्रदेशबासी जनताको मर्म र पीडा बुझेर काम गर्न सफल होस् भन्दै शुभकामना व्यक्त गरिन् । ‘केन्द्रमा सत्ता समीकरण बदल्दा हामी प्रदेशमा तुरुन्तै सरकारको नेतृत्व परिवर्तन गर्नका लागि एकदमै हतार गर्छौं । केन्द्रमा जे जस्तो समीकरण भए पनि प्रदेशमा स्थायीत्व हुने गरी चलिरहेको सरकारलाई हामी किन निरन्तरता दिन सक्दैनौं, ’उनले भनिन् । 

    पत्रकारलाई पुरस्कारवापतको रकम किन दिइएन ?

    त्यस्तै अर्को प्रसंगमा सांसद् के.सी.ले लुम्बिनी प्रदेश सरकारले पुरस्कृत गरेका पत्रकारहरुलाई पुरस्कारवापतको रकम किन दिइएन भन्दै प्रश्न गरेकी छन् । सांसद् के.सी.ले पुरस्कृत सम्पूर्ण पत्रकारहरुलाई तत्काल रकम उपलब्ध गराउन माग गरिन् । उनले भनिन्, ‘अहिलेसम्म सरकारले के हेरेर बसेको छ ? यसले कस्तो सन्देश जान्छ होला ? पत्रकारलाई हामीले आजको दिनमा ढाँट्न र छल्न मिल्छ ? यसतर्फ म प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    पत्रकारलाई पुरस्कृत तथा सम्मान गर्नु आफैमा महत्वपूर्ण कार्यक्रम भएको उनले बताइन् । ‘मिडिया राज्यको चौथो अंग हो । सञ्चार क्षेत्रको भूमिका र महत्व कति छ भन्ने कुरा यहाँ बताइरहनु पर्दैन, ’उनले भनिन् ।

    उनले लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसका अवसरमा प्रदेश राजधानी दाङको राप्ती उपत्यका, देउखुरीमा आयोजित विशेष समारोहमा १६ जना पत्रकारलाई आमन्त्रित गरी पुरस्कृत गरिएको बताइन् । उनले भनिन्, ‘अग्रज पत्रकारिता पुरस्कारबाट १ जनालाई, सिर्जनशील पत्रकारिता पुरस्कारबाट १२ र विभिन्न क्षेत्रमा योगदान पुर्याउने ३ जना पत्रकार गरी १६ जनालाई पुरस्कृत गरियो । पुरस्कारवापतको रकम पछि खातामा आउँछ भनेर खाता नम्बर पनि टिपाउन लगाइयो । तर, आजसम्म पनि पत्रकार महानुभावहरुले पुरस्कारवापतको रकम पाउनुभएको छैन, आखिर किन ? ’

    अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत १ जनालाई रु. १ लाख, सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत १२ जना तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ३ जनालाई जनही रु. ५० हजार प्रदान गरिएको भन्ने सम्मानपत्रमा उल्लेख छ । तर, आजसम्म पनि पत्रकारले पुरस्कारवापतको रकम नपाएको सांसद् के.सी.ले गुनासो गरिन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij