२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

कोटहीमाईले ट्याक्टर दुर्घटनामा परी घाइतेको उपचारमा दियो ८ लाख

सोमवार , बैशाख १७, २०८१

  • 922
    Shares
  • 922
    Shares
  • भैरहवा, १७ वैशाख ।
    रुपन्देहीको कोटहीमाई गाउँपालिकाले सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.भैरहवालाई ८ लाख रुपैयाँ प्रदान गरेको छ । गत २०८० चैत १ गते कोटहीमाई गाउँपालिका वडा नम्बर ५ स्थित दुईमोहानमा भएको ट्याक्टर दुर्घटनामा परी घाइते भएकाहरुको उपचारको लागि शुक्रबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णयअनुसार रकम प्रदान (भुक्तानी) गरिएको कोटहीमाईका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए । 

    कोटहीमाई गाउँपालिकाबाट ४ लाख ५० हजार, कोटहीमाई वडा नम्बर ५ बाट ५० हजार र वडा नम्बर ७ बाट ३ लाख गरी ८ लाख अस्पताललाई प्रदान गरिएको अध्यक्ष त्रिपाठीले जानकारी दिए । वडा नम्बर ७ ले आर्थिक वर्ष २०८०/०८१ मा अवलोकन भ्रमणको लागि बिनियोजन गरेको ३ लाख बजेट उपचार खर्चको लागि दिएको वडाअध्यक्ष पवन कुमार यादवले बताए ।

    ईलाका प्रहरी कार्यालय मझगावाँका अनुसार चैत १ गते कोटहीमाई–७ दुबे कटयाका रमापति सहानीको घरमा भागवतको लागि दुईमोहानमा जल भर्न गएको लु १ त ५५४७ नम्बरको ट्याक्टर पल्टिदा ३३ जना घाइते भएका थिए । 

    दुर्घटनामा घाइते ३३ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेकोले उहाँहरुलाई भर्ना गरी शल्यक्रिया गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए । उनले भने, ‘सामान्य घाइते भएका धेरैलाई २ देखि ८ दिनसम्म उपचार गरी डिस्चार्ज गरिएको थियो । तर, कोटहीमाई–७ कि सुमित्रा यादव, शारधा मुराव, शिवशंकर दुवे, ज्ञानमति मुराव र उर्मिला यादवको अवस्था गम्भीर रहेकोले आइसीयूमा राखेर उपचार गरिएको थियो । कसैको हात, कसैको खुट्टा र कसैको नाक, कान, घाटी (इएनटी) सम्बन्धी शल्यक्रिया गर्नुपरेको थियो । उहाँहरुलाई २७ दिनसम्म अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।’ 

    सम्पूर्ण उपचारमा करीब २२ लाख खर्च भएकोमा दुर्घटना भएकै दिन पूर्व सांसद तथा नेपाली कांग्रेसका युवा नेता प्रमोद कुमार यादवले ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।

    अहिले कोटहीमाई गाउँपालिकाबाट ८ लाख रुपैयाँ प्राप्त भएको प्रबन्ध निर्देशक पौडेलले बताए । त्यसबाहेक वक्यौता रकम प्रदेश सरकारबाट आउने आश्वासन पाइएको उनले बताए ।