भैरहवा, १५ वैशाख ।
आयातित बिरामीका कारण औलो (मलेरिया) निवारणमा चुनौती बनेको छ । नेपालमा देखिने अधिकांश औलोका बिरामी भारतबाट संक्रमित भएर आउने भएकोले निवारणमा सोचेअनुसारको उपलब्धी हुन सकेको छैन । विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय रुपन्देहीले गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा कार्यालयले दिएको तथ्यांक अनुसार रुपन्देहीका सबै बिरामी स्थानीयबाट संक्रमित नभइ बाहिरबाट संक्रमित भइ नेपाल आएका हुन् ।
औलो निवारणका लागि उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा औलोको बिरामीहरु देखिनु तथा आवश्यक प्रतिकारात्मक क्रियाकलाप जस्तै खोजपड्ताल तथा विषादी छिड्काउ गर्न समयमा नै पुग्न कठिनाइ रहेको छ ।
त्यस्तै कीटनाशकयुक्त झूल तथा विषादी मागअनुसार व्यवस्थापनमा कठिनाइ, औलो निवारण कार्यक्रमका लागि माग भएबमोजिम पर्याप्त आर्थिक स्रोतको अभाव रहनु, प्रदेश तथा स्थानीय तहमा औलो सम्बन्धी तालिमप्राप्त स्वास्थ्यकर्मी तथा ईन्टोमोलोजिष्टहरुको अभाव र आयातित औलो रोगका बिरामीहरुको संख्या बढ्दै जानु लगायतका चुनौतीहरु रहेका छन् ।
रुपन्देहीमा चालु आर्थिक वर्षमा ४० जनामा औलो रोगका बिरामी देखिएको छ । जसमध्ये ५ जना जिल्ला बाहिरका बिरामी रहेका छन् । तथ्यांकअनुसार कोटहीमाई गाउँपालिकामा १० जना, लुम्बिनी साँस्कृतिक नगरपालिकामा ४, मायादेवी गाउँपालिकामा २, सिद्धार्थनगर नगरपालिका, रोहिणी गाउँपालिकामा ३/३, तिलोत्तमा नगरपालिकामा १, सियारी गाउँपालिकामा ३, गैडहवा गाउँपालिकामा ४, बुटवल उपमहानगरपालिकामा ८ र देवदह नगरपालिकामा २ जनामा संक्रमण देखिएको छ । सबैजना भारतबाट संक्रमित भएर नेपाल आएका आयातित बिरामी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहले बताए ।
रुपन्देहीमा आर्थिक वर्ष २०७८/७९ मा १२ हजार १ सय ६४ जनामा मलेरिया परीक्षण भएकोमा १२ जना, २०७९/८० मा २५ हजार २ सय ४५ जनामा परीक्षण गर्दा २० जना र आर्थिक वर्ष २०८०/८१ मा २२ हजार ४ सय ५७ जनामा परीक्षण गर्दा ४० जनामा संक्रमण देखिएको हो ।
खुला सीमाका कारण छिमेकी देश भारत र तेस्रो मुलुकबाट नेपाली फर्केर आउँदा औलो संक्रमण हुने गरेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक साहले जानकारी दिए ।
नेपाल भारतबीचको खुल्ला सीमा नाका, बिना रोकटोक नेपाल भारत आवातजावत तथा परीक्षणको उचित प्रबन्ध नहुँदा आयातित बिरामीहरुको बढिरहेको कार्यालयले जनाएको छ । भारतका विभिन्न स्थानमा काम गर्ने कामदार, विभिन्न पर्वहरु मनाउन नेपाल फर्किने नेपाली तथा नेपाल आउने अन्य व्यक्तिहरुले आफूसँगै औलोको परजिवी सँगै लिएर आउने गरेको भेक्टर कन्ट्रोल साहको भनाइ छ ।
पोथी लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोकथामको उपयुक्त उपाय रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले बताए । यसको रोकथामको लागि स्वास्थ्य संस्थाहरुमार्फत औलोको निःशुल्क परीक्षण तथा उपचार भइरहेको, देशभरीबाट स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीबाट नियमित रुपमा सूचना संकलन, सुपरभिजन तथा अनुगमन, भेक्टर सर्भिलेन्स भएको उनले बताए । उनले वातावरणीय सरसफाईमा ध्यान दिनुपर्ने र घर वरिपरीका खाल्डाखुल्डी पुर्नुपर्ने बताए । उनले भने, ‘सरसफाई भए लामखुट्टेलाई नष्ट गर्न सकिन्छ ।’
विश्व स्वास्थ्य संगठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रुपमा मनाउने घोषणागरे अनुरुप नेपालमा पनि सोही दिन यो दिवस मनाइँदै आइएको छ । यस वर्ष ‘औलो विरुद्धको लडाईंलाई तीव्रता दिऔं, समतामूलक पहुँचको सिर्जना गरौंै’ भन्ने नाराका साथ विश्व औलो दिवस मनाइएको छ । नेपालमा सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य रहेको छ ।