भैरहवा, ८ वैशाख ।
नेपाल कमर्सियल आर्टिष्ट संघ जिल्ला कार्यसमिति, रुपन्देहीले नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो (क्यालेण्डर) विमोचन कार्यक्रम गरेको छ । शनिबार संघले लुम्बिनीमा उक्त कार्यक्रम गरेको हो ।
त्यस्तै लुम्बिनी विकास कोषकी योजना प्रमुख स्मिता भट्टले आर्टिष्ट आफैमा राम्रो शब्द भएको बताइन् । उनले भनिन्, ‘हामीले परम्परागत कुराहरु बिर्सेर आयातित कुरामा ध्यान दिएका छौं, प्रयोग गरिरहेका छौं । यसले हाम्रो देशको पुँजी बाहिरिएको छ ।’ उनले कला संस्कृतिको प्रचारप्रसार गर्दै अझ व्यवस्थित गर्नुपर्नेमा जोड दिइन् । देशलाई सबल र सक्षम बनाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।
नेपाल कमर्सियल आर्टिष्ट संघ रुपन्देहीका अध्यक्ष दिनेशमणि कोहारले संघले कला संस्कृतिलाई बढावा दिदै आएको बताए । उनले भने, ‘पेन्टिङमार्फत विभिन्न सन्देश दिन खोजेका छौं । हामीलाई स्थानीय सरकारले अवसर दिनुपर्छ । लुम्बिनीमा कार्यक्रम गर्न पाउँदा खुसी भएका छौं ।’
संघका संस्थापक अध्यक्ष उज्जवलकुमार दे कायस्थले स्थानीय सरकारले कला संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, नगरपालिकाले हाम्रो पेशाको कदर गर्नुपर्छ ।
संघका वरिष्ठ उपाध्यक्ष अशोक कुमाल, सचिव बिशन गुरुङ, कोषाध्यक्ष तथा भित्तेपात्रो प्रकाशन समितिका संयोजक रवि घिमिरेलगायतले बोल्दै बुद्ध जन्मस्थल लुम्बिनीमा कार्यक्रम गर्न पाउँदा गर्वको अनुभुति भएको बताए । उनीहरुले स्थानीय सरकारसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।