२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

मुलुकको विकासका लागि सबै दलहरु मिलेर अगाडि बढ्नुपर्नेमा जोड

शुक्रवार , चैत्र ३०, २०८०

  • 781
    Shares
  • 781
    Shares
  • तिलोत्तमा, ३० चैत । 

    विभिन्न राजनीतिक दलका नेताहरुले मुलुकको विकासका लागि सबै दलहरु मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् । निर्वाचनका बेला दलहरुका बीचमा स्वच्छ प्रतिष्पर्धा भए पनि मुलुक र आफ्नो गाउँ तथा नगरको विकासका लागि सबै दलहरु मिलेर अगाडी बढ्नुपर्ने उनीहरुले जोड दिएका छन् ।
      
    काँग्रेस तिलोत्तमा नगर समितिले नयाँ वर्ष २०८१ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी दलका नेताहरुले विकासका लागि सबैको साझा धारणा र एकता जरुरी रहेका बताएका हुन ।

    कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भरत कुमार शाहले नेपालमा फरक दलका नेता कार्यकर्ता फरक दलका कार्यक्रममा जाने र शुभकामना आदानप्रदान गर्ने राम्रो कल्चर रहेको बताए । यसले दलहरुका बीचमा भावनात्मक सम्बन्ध स्थापित गर्ने उनले बताए।

    नेता शाहले सबै दलहरु मिलेर गरेको विकासले मुलुकमा सम्पन्नता ल्याउने र सम्पन्नताले रोजगारीको सिर्जनासँगै व्यापार व्यवसाय प्रवद्र्धनमा टेवा पुर्याउने बताए । उनले विकास र सम्पन्नताका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी वृद्धि गरी शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क गर्नुपर्नेमा जोड दिए ।

    कांग्रेस केन्द्रीय सदस्य गंगा शाहीले नयाँ वर्ष विकास र समृद्धिको वर्ष बनोस् भन्ने कामना गरिन् । उनले  दलहरुका बीचमा बढ्दो बेमेलको अन्त्य गरी नयाँ वर्ष आपसी एकता, सदभाव र समृद्धिको वर्ष बनोस भन्ने कामना गरिन् ।

    नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले भौतिक विकाससँगै मानवीय विकास गरी गरीबी न्यूनीकरणका लागि सबै दल एकजुट हुनुपर्ने आवश्यकता औल्याए ।

    नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेसका क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरी, नेकपा एमालेका नगर अध्यक्ष तामनाथ पाण्डे, नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष बेलप्रसाद शर्मा, जनमुक्ति पार्टीका नगर अध्यक्ष राधिका श्रीस, काँग्रेस जिल्ला सदस्य कमला पाण्डे, नगर उपसभापति कल्याण पौडेल, काँग्रेस तिलोत्तमा–७ का वडा सभापति दिनमणि पंगेनी लगायतले शुभकामना व्यक्त गरेका थिए ।