२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

पश्चिम नवलपरासीमा २३ सय बढीलाई कोभिडविरुद्धको खोप लगाइयो

मंगलवार , फाल्गुण ४, २०७७

नवलपरासी, ४ फागुन ।
पश्चिम नवलपरासीमा मंगलबारसम्म २ हजार ३ सय १५ जनालाई कोभिडविरुद्धको खोप लगाइएको छ । सरकारले गत माघ १४ गतेदेखि २३ सम्म पहिलो चरणको खोप सञ्चालन सुरु गरेसंगै पहिलो चरणमा लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलले पश्चिम नवलपरासीमा २ सय ३८ भाइल खोप उपलब्ध गराएको थियो । 

पहिलो चरणमा विशेष गरी अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कोभिडबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मी, कारागारका कैदीबन्दी, एम्बुलेन्स चालकहरुलाई खोप सेवा प्रदान गरिएको थियो । एक भाइल बराबर १० जनालाई खोप लगाउन सकिने भएकाले जिल्लामा उपलब्ध भएको २ सय ३८ भाइल खोपमध्ये पहिलो चरणमा पृथ्वीचन्द्र अस्पताल परासीबाट ११ सय ५२ जनालाई खोप सेवा प्रदान गरिएको वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।

जिल्लामा अहिलेसम्म कोभिड विरुद्धको खोप लगाइएकामध्ये केहिलाई ज्वरो आउने र टाउको दुख्ने सामान्य स्वास्थ्य समस्या देखिएको भए तापनि अधिकाशलाई भने कुनै पनि किसिमको गम्भिर स्वास्थ्य समस्या नदेखिएको बताउँदै पोखरेलले सरकारले सञ्चालन गरेको कोभिडविरुद्धको खोप अभियानमा भयभित नभइ खोप केन्द्रमा गएर खोप सेवा लिनुहुन समेत आग्रह गरे ।

सरकारले पुन फागुन २ देखि ८ गतेसम्म कोभिडविरुद्धको दोस्रो चरणको खोप अभियान देशभरिका सबै जिल्ला अस्पतालबाट सञ्चालन गरिरहेको छ । दोस्रो चरणको खोप अभियानमा भने सरकारी तथा निजामती कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी, सीमा नाकामा खटिएका सुरक्षाकर्मी, सञ्चारकर्मी, न्यायालयसंग सम्बन्धित कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी लगायतलाई समावेश गरिएको छ । पश्चिम नवलपरासीमा दोस्रो चरणको खोप अभियान अन्तर्गत मंगलबारसम्म १ हजार १ सय ६३ जनालाई खोप लगाइसकिएको छ । दोस्रो चरणको अभियानमा जिल्लाबाट करिब ३ हजार व्यक्तिलाई खोप सेवा प्रदान गर्ने लक्ष्य  स्वास्थ्य कार्यालयको छ ।

त्यसै गरी पृथ्वीचन्द्र अस्पताल परासीबाट खोप लगाउने व्यक्तिहरुको चाप कम गराउने उद्देश्यले स्वास्थ्य कार्यालय नवलपरासीले मंगलबारबाट बर्दघाट स्थित चिसापानी अस्पतालबाट समेत कोभिडविरुद्धको खोप सेवा सञ्चालन थालेको छ । खोप अभियान सञ्चालन सुरु गरेको पहिलो दिन चिसापानी अस्पतालबाट ८० जनाले कोभिडविरुद्धको खोप सेवा लिएका छन् । त्यस्तै लुम्बिनी प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र बुटवलले मंगलबार नै थप १ सय ९६ भाइल खोप जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीलाई उपलब्ध गराएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालयको पछिल्लो तथ्यांक अनुसार जिल्लामा हालसम्म ४ सय १९ महिला र ९ सय ७९ जना पुरुष गरी १४ सय ३७ जना कोभिड संक्रमित भएका छन् । जसमध्ये १३ सय ९८ जना निको भइसकेका छन् भने पछिल्लो समय सक्रिय कोभिड संक्रमित ६ जना रहेको र कोभिड संक्रमणबाट १० महिला र ३३ पुरुष गरी जम्मा ३३ जनाको मृत्यु भइसकेको छ ।