images

आइतवार, बैशाख १६ गते २०८१

रूपन्देही सुपर लिगको ‘टाइटल स्पोन्सर’ बन्यो ड्रिम यूनिक

रूपन्देही सुपर लिगको ‘टाइटल स्पोन्सर’ बन्यो ड्रिम यूनिक

images
images
images
सोमवार, फाल्गुण २१ २०८०
सोमवार, फाल्गुण २१ २०८०
  • रूपन्देही सुपर लिगको ‘टाइटल स्पोन्सर’ बन्यो ड्रिम यूनिक

    भैरहवा, २१ फागुन ।
    दशकदेखि मुलुकमै जिल्लास्तरमा ५० ओभरको सुपर लिग सञ्चालन गर्दै आएको रुपन्देही क्रिकेट संघले ड्रिम यूनिक कन्सलटेन्सी प्रा.लि., बुटवलसँग ‘टाइटल स्पोन्सर’ सम्झौता गरेको छ । विगत ७ वर्षदेखि रुपन्देही सुपर लिगका लागि नेपाल टेलिकमले मुख्य प्रायोजन गर्दै आएको थियो ।

    images

    सरकारी कार्यालयसँग सम्झौता गरेर काम गर्दा प्रक्रियागत लगायतका झन्झट भएको भन्दै संघले निजी संस्थासँग सम्झौता गरेको हो । जसले गर्दा यसपटक सुपर लिग सञ्चालनार्थ बुटवल उपमहानगरपालिका–८ स्थित सुख्खानगरमा रहेको ड्रिम यूनिकसँग ‘टाइटल स्पोन्सर’ सम्झौता गरिएको हो ।

    सोमबार भैरहवामा आयोजित कार्यक्रममा क्रिकेट संघका तर्फबाट अध्यक्ष हरि बहादुर थापा र ड्रिम यूनिक कन्सलटेन्सीका तर्फबाट प्रबन्ध निर्देशक विशाल आचार्यले सम्झौता–पत्रमा हस्ताक्षर गरे । 

    सम्झौता अनुसार रुपन्देही सुपर लिग–२०८० सञ्चालन गर्नका लागि ड्रिम यूनिकले यस वर्ष क्रिकेट संघलाई ३ लाख रुपैयाँ दिनेछ । ड्रिमले ३ लाखको ३३ प्रतिशत रकम सम्झौता भएसँगै संघलाई उपलब्ध गराएको छ भने बाँकी ३३ प्रतिशत रकम प्रतियोगिता सुरु हुन एक दिन अगाडि दिनेछ । यस्तै, बाँकी ३४ प्रतिशत रकम प्रतियोगिता समापन भएको एक हप्ताभित्र संघलाई दिने गरी सम्झौता गरिएको हो ।

    संघका अध्यक्ष थापाले नयाँ सम्झौताले सुपर लिग थप व्यवस्थित रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले आउँदा वर्षहरुमा पनि ड्रिमले निरन्तर मुख्य प्रायोजन गर्दै जाने विश्वास गरे । ‘सुपर लिगले ड्रिमको प्रबद्र्धन हुन्छ भने क्रिकेट खेलको विकासमा थप टेवा पुग्छ’, उनले भने ।

    सम्झौतामा प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरेर रुपन्देही जिल्लाभित्रका २० वटा क्लबहरुको सहभागीतामा लिगको आधारमा कम्तीमा ३० खेलहरु सञ्चालन गर्नुपर्ने मापदण्ड बनाइएको छ । यस्तै, प्रथम पक्ष (क्रिकेट संघ) ले प्रतियोगिताको नामाकरण दोस्रो पक्ष (ड्रिम यूनिक) को नाममा राख्नुपर्ने शर्त राखिएको छ । प्रतियोगिता स्थलमा प्रमुख प्रायोजनको महत्व झल्कने गरी मुख्य द्वार निर्माण प्रथम पक्षले गर्नु पर्ने भनिएको छ ।

    संघका निवर्तमान अध्यक्ष एवं नेपाल क्रिकेट संघका पूर्व कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले लामो समयदेखि जिल्लास्तरमा ५० ओभरको सुपर लिग गराउने रुपन्देही एक मात्र जिल्ला भएको जनाए । उनले यही सुपर लिगका उत्पादन थुप्रै खेलाडीहरु राष्ट्रिय क्रिकेट खेलमा जमिसकेको जनाउँदै आउँदा दिनमा पनि प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले क्रिकेटको विकासमा ड्रिम यूनिक कन्सलटेन्सीले गरेको साझेदारी महत्वपूर्ण रहेको उल्लेख गरे ।

    ड्रिम यूनिकका प्रबन्ध निर्देशक आचार्यले सानैदेखि क्रिकेट मन पर्ने खेल भएको जनाउँदै सुपर लिग सञ्चालनमा सहकार्य गर्न पाउँदा निकै खुशी लागेको बताए । ‘मेरो भाइ क्रिकेट खेलाडी थिए, कारणबस निरन्तर गर्न सकेनन् तर पनि हामीलाई क्रिकेटप्रतिको माया उस्तै छ’, उनले भने, ‘यसैले पनि हामी यो सम्झौता गर्ने अवस्थामा आयौं । आउँदा दिनमा पनि सहकार्यलाई निरन्तरता दिँदै जानेछौं ।’

    यस वर्षको सुपरलिग आउने हप्तादेखि सुरु गर्ने संघको तयारी छ । यद्यपि अझै मिति भने तोकिएको छैन । लामो समयदेखि महिना दिनसम्म सुपर लिग गर्दै आएको संघले जिल्लाबाट नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिँदै आएको छ । जिल्लास्तरमा आयोजना हुने यस किसिमका लिगकै कारण रुपन्देहीबाट अहिलेसम्म ९० बढी राष्ट्रियस्तरका खेलाडी उत्पादन भइसकेका छन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij