
सोमवार , फाल्गुण २१, २०८०
भैरहवा । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ५ स्थित मानपकडीमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । २०७९ चैत्र ६ गतेको निर्णय अनुसार ईलाका प्रशासन कार्यालय मानपकडीमा राख्ने तय भएको थियो ।
२०८० पुस ३ गते कार्यक्षेत्र विस्तार एवं कार्यालय व्यवस्थापन गर्ने गरि गृहमन्त्रीस्तरको निर्णय पश्चात उक्त कार्यालयको स्थापना गरिएको हो ।
ईलाका प्रशासन कार्यालय मानपकडीबाट शुद्धोधन, गैडहवा, सियारी र मायादेवी गाउँपालिकाका २२ वटा वडाका सवा लाख बढी नागरिकले सेवा लिन सक्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
कार्यालयको उप्रप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले सुशासनका सन्र्दभमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासनमा ठूला अभियान चालेको बताउँदै त्यो अभियानमा विश्राम नलाग्ने बताए ।
मानपकडीबाट शुद्धोधन गाउँपालिकाको ७ वटै वडा, गैडहवा गाउँपालिकाको ९ वटै वडा, सियारी गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ तथा मायादेवी गाउँपालिकाको वडा नम्बर १ र २ गरी २२ वटा वडाका स्थानीयहरु सेवा लिन सक्नेछन् । करिब १ लाख २९ हजार जनाले सेवा लिने गरी कार्यालयको स्थापना गरिएको छ ।
योसहित रुपन्देहीमा ईलाका प्रशासन कार्यालयको संख्या ३ पुगेको छ । रुपन्देहीको बुटवल उप-महानगरपालिका र कोटहीमाई गाउँपालिकामा यस अघिदेखि नै ईलाका प्रशासन कार्यालयहरु रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij