२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

सियारीमा फिजियोथेरापी सेवा सुरु, स्थानीयलाई सहज

आइतवार , फाल्गुण २०, २०८०

  • 979
    Shares
  • 979
    Shares
  • भैरहवा, २० फागुन ।
    रुपन्देहीको सियारी गाउँपालिकाले फिजियोथेरापी सुरु गरेको छ । पालिकाले स्थानीय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहँुच पुर्याउने उद्धेश्यले फिजियोथेरापी सुरु गरेको हो ।

    सियारी गाउँपालिकाले सुरु गरेको फिजियोथेरापी सेवा लुम्बिनी प्रदेशका पालिकाहरुमा पहिलो भएको दावी गरेको छ । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले फिजियोथेरापी सेवाका लागि भैरहवा तथा बुटवल लगायतका शहरमा पुग्नुपर्ने बाध्यतालाई हटाउन सियारीमा यो सेवा सुरु गरेको बताए ।

    अध्यक्ष घिमिरेले भने, ‘एकजना फिजियोथेरापी गर्न जाँदा बुटवल तथा भैरहवाको भाडा, थेरापी गरेवापतको शुल्क लगायत तिर्दा एक भन्दा बढी हुन्छ, समयको पनि बचत हदैन्, यी सबै कुराबाट नागरिकलाई सुविधा दिनका लागि पालिकाबाटै फिजियोथेरापी शुरु गरेका हौं ।’ उनका अनुसार सियारीले फिजियोथेरापी गरेबाट बढीमा १ सय ५० देखि दुईसय रुपैयाँसम्म हुन सक्ने गरी शुल्क तय गर्न लागिएको छ । 

    पालिकाले सियारी–४ छपिया बजारस्थित नेपाल रेडक्रसको भवनबाट सेवा सुरु गरेको हो । गाउँपालिका अध्यक्ष घिमिरेले सियारीबासीलाई स्वास्थ्य क्षेत्रमा आवश्यक अन्य सेवा पनि निरन्तर रुपमा प्रदान गर्दै जाने बताए । 

    आधुनिक मेशिनसहित फिजियो थेरापी सेवा विस्तार भएसँगै सियारीसहित मायादेवी, शुद्धोेधन गाउँपालिकाका नागरिकले लाभ लिन पाउने पालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए । 

    प्यारालाइसिस, नशा, ढाड र खुट्टाको समस्याका साथै बाथ लगायत रोगका बिरामीले सियारीमा सुरु गरिएको थेरापीबाट सेवा लिन सक्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए । 

    पालिकाभित्रै थेरापी सुरु भएपछि निकै सहज भएको स्थानिय सेवाग्राहीले उल्लेख गरेका छन् । सियारी–४ का बुद्धिप्रसाद पोखरेल तथा सावित्री पोखरेलले गाउँमै सेवा आएपछि आफूहरुलाई निकै सहज भएको बताए । 

    ‘बुढेसकालमा धेरै टाढा पुगेर उपचार गर्दा आर्थिक समस्याका साथै समय पनि खर्च हुने गरेको थियो गाउँमा आएपछि निकै सहज भएको छ, स्थाीय बुद्धिप्रसाद पोखरेलले भने । फिजियोथेरापी गर्नका लागि कहिले बुटवल त कहिले भैरहवा जानुपर्ने थियो, गाउँमै सेवा आएपछि निकै सजिलो भएको छ, यसबाट हामी जति अरु को होला र ? उनले भने । 

    गाउँपालिकाले थेरापी सेवा लिनका लागि अत्यन्तै न्यून शुल्क तय गर्ने जनाएको छ । सियारीले जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुको सहजताका लागि घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ भने बिरामीहरुलाई निःशुल्क रुपमा रगतको व्यवस्थापन समेत गर्दै आएको छ ।