लुम्बिनी, १८ फागुन ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले १५ औं सभाको बैठक शनिबार (१९ गते) लुम्बिनी गर्दैछ । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा सभाको बैठक हुन लागेको हो ।
बैठकका लागि प्रधानमन्त्री शनिबार लुम्बिनी आउँदैछन् । प्रधानमन्त्री दाहालले शनिबार नै लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय लुम्बिनी विकास कोष परिसरभित्र निर्माण भएको छ ।
झण्डै २२ करोड लागतमा बनेको भवनमा उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यालय रहनेछ । भवनमा सुविधासम्पन्न सभाहल निर्माण भएको छ । जसको क्षमता २ सय ५० भन्दा बढी रहेको छ ।
सभाको बैठक तथा भवन उद्घाटनका लागि बिहान साढे ११ बजे प्रधानमन्त्री लुम्बिनी आउने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालय सभाका सदस्य सचिव एवं रजिष्ट्रार डा. तिलकराम आचार्यले सभाको बैठकमा वार्षिक नीति कार्यक्रम, बजेट तथा नियम कानून निर्माणका प्रस्तावहरुमा छलफल हुने जानकारी दिए । विश्वविद्यालय सभाको बैठका सहभागीताका लागि सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राई शुक्रबार नै लुम्बिनी आएका छन् ।
सभाको बैठकमा अन्य विश्वविद्यालयका प्रतिनिधि, राष्ट्रिय योजना आयोग, विभिन्न मन्त्रालयका सचिव, लुम्बिनी प्रदेशका प्रमुख सचिव, विकास कोषका उपाध्याक्ष, सातै प्रदेशबाट नियुक्त भएका सदस्यहरु गरी ४३ जना सहभागीता रहने विश्वविद्यालयले जनाएको छ ।
प्रधानमन्त्रीले पहिलो चरणमा कार्यालयको भवन उद्घाटन गर्ने र त्यसलगत्तै सभाको बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।